close

रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश

टेकपाना टेकपाना

साउन ९, २०८३ २१:३०

रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय चर्चामा रहेको रोल्पाका तीन बालिकाको भिडिओलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा सचेतनाका लागि प्रयोग गरेको छ । वर्षाको समयमा रेनकोट ओढेर विद्यालयबाट घर फर्किंदै गरेका बालिकाहरूको उक्त भिडिओ प्रयोग गर्दै ट्राफिक प्रहरीले सचेतनामूलक सामग्री तयार पारेको हो ।

भिडिओमा ती बालिकाहरूले क्रमशः पहेँलो, हरियो र गुलाबी रङको रेनकोट ओढेको देखिन्छन् । ट्राफिक प्रहरीले बालबालिकाको पहिरनको रङलाई सडकमा प्रयोग हुने ट्राफिक लाइटसँग तुलना गर्दै सचेतना सन्देश प्रवाह गरेको छ । 

जसमा पहेँलो रेनकोट लगाएका बालकको तस्बिरसँगै ‘ट्राफिकको पहेँलो बत्तीले तयारीको संकेत दिन्छ’ र हरियो रेनकोट लगाएका बालकको तस्बिरसँगै ‘हरियो बत्तीले जाने संकेत दिन्छ’ भनिएको छ । त्यसैगरी, गुलाबी रेनकोटलाई रातो बत्तीको रूपमा प्रस्तुत गर्दै ‘रातो बत्तीले रोकिने संकेत दिन्छ’ भनी बुझाउन खोजिएको छ ।

रचनात्मक सामग्रीको अन्त्यमा लेखिएको छ, “यी प्यारा नानीबाबुहरू जस्तै सडकका ट्राफिक लाइटहरूले पनि हामीलाई मायाकै भाषा बोलिरहेका छन् ।”

सामाजिक सञ्जालको पछिल्लो ट्रेन्डलाई पछ्याएर सचेतना फैलाउने प्रहरीको यस शैलीलाई धेरै प्रयोगकर्ताले सकारात्मक रूपमा लिएका छन् । प्रतिक्रिया दिने कतिपय प्रयोगकर्ताले भने सडकमा राखिएका ट्राफिक लाइटलाई पनि सधैँ दुरुस्त र सञ्चालनमा राख्न सुझाव दिएका छन् । 

काठमाडौँ उपत्यकाका कतिपय व्यस्त चोकहरूमा ट्राफिक लाइट नचल्दा सवारी आवगमन असहज हुने गरेको उल्लेख गर्दै उनीहरूले बिग्रिएका बत्तीहरूको शीघ्र मर्मत गर्नुपर्नेतर्फ ट्राफिक प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८३ २१:३०