भारतीय स्टार्टअप क्रेडमा मेटाको १३५ अर्ब लगानी, संस्थापक कुनाल शाहलाई ह्वाट्सएपको सीईओ
असार ९, २०८३ ११:४९
काठमाडौं । मेटाले भारतीय फिनटेक स्टार्टअप क्रेड (CRED) मा ९० करोड डलर (१ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी) लगानी गर्ने घोषणा गरेको छ । यस सम्झौतासँगै क्रेडका संस्थापक कुनाल शाहलाई ह्वाट्सएपको प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस फन्डिङ राउन्डको नेतृत्व मेटाले गरेको छ । जसले क्रेडलाई साढे ४ अर्ब डलर (६ खर्ब रुपैयाँभन्दा बढी) को मूल्याङ्कन दिएको छ । यो लगानीसँगै बेंगलुरुस्थित क्रेडमा मेटाको करिब २० प्रतिशत हिस्सेदारी रहनेछ । यद्यपि, सम्झौता अन्तर्गत मेटाले क्रेडका सदस्य वा ग्राहकहरूको डेटामा भने कुनै पहुँच पाउने छैन ।
यो लगानी भारतको वित्तीय प्रविधि क्षेत्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा ठुलो लगानीमध्ये एक हो । हालको साढे ४ अर्ब डलरको मूल्याङ्कन सन् २०२५ को अघिल्लो फन्डिङ राउन्डको ३.५ अर्ब डलरभन्दा बढी भए पनि सन् २०२२ को ६.४ अर्ब डलर (करिब ९ खर्ब ६७ अर्ब रुपैयाँ) को उच्च मूल्याङ्कनभन्दा कम हो ।
मेटाले यसअघि भारतमा रिलायन्स इन्डस्ट्रिजको डिजिटल इकाई जियो प्लेटफर्ममा पनि ठुलो लगानी गरेको थियो । जसले गत हप्ता मात्र आईपीओका लागि कागजात दर्ता गराएको छ ।
ह्वाट्सएपका हालका प्रमुख विल क्याथकार्टले करिब ७ वर्षसम्म मेसेजिङ सेवाको नेतृत्व गरेपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको कार्यकालमा ह्वाट्सएपका निजी च्याट सुविधाहरू विश्वव्यापी रूपमा ३ अर्बभन्दा बढी प्रयोगकर्ताहरूसम्म पुगेका थिए ।
ह्वाट्सएप हालसम्मकै बलियो अवस्थामा रहेको र पदबाट पछि हट्ने यो नै सही समय भएको उनले बताएका छन् । उनी मेटाको नेतृत्व पङ्क्तिमै नयाँ भूमिकामा रहनेछन् र उनको स्थान कुनाल शाहले लिनेछन् ।
मेटाका सीईओ मार्क जुकरबर्गले शाहले भारतको सबैभन्दा महत्त्वपूर्ण प्रविधि कम्पनीमध्ये एक बनाएको उल्लेख गर्दै उनको बिल्डर मेन्टालिटी र विश्वव्यापी दृष्टिकोणले विश्वको सबैभन्दा ठुलो मेसेजिङ एप चलाउन मद्दत गर्ने बताएका छन् । कुनाल शाहले लिंक्डइन मार्फत ह्वाट्सएपको वर्तमान अवस्था र यसको पूर्ण क्षमताबिच निकै ठुलो अन्तर रहेको उल्लेख गरेका छन् । नयाँ भूमिका सम्हाले पनि उनी क्रेडको शेयरधनीको रूपमा भने रहिरहनेछन् ।
सन् २०१८ मा स्थापना भएको क्रेड उच्च क्रेडिट स्कोर भएका सम्भ्रान्त भारतीयहरूका लागि क्रेडिट कार्डको बिल समयमै तिर्न प्रोत्साहन गर्ने र प्रबन्ध गर्ने मेम्बर्स-वन्ली प्लेटफर्म हो । यसले भुक्तानी, ऋण, बीमा, सम्पत्ति व्यवस्थापन र लाइफस्टाइल सेवाहरू प्रदान गर्दछ ।
यसका मासिक १ करोड ७० लाख सदस्यहरू छन् र यसले समग्रमा १७ करोड सक्रिय प्रयोगकर्ताहरूको आधार तयार गरेको छ । क्रेडले भारतको कुल क्रेडिट कार्ड बिल भुक्तानीको ४०% भन्दा बढी प्रशोधन गर्दछ र साझेदार वित्तीय संस्थाहरूका लागि २४० अर्ब भारु (३ खर्ब ८४ अर्ब रुपैयाँ) भन्दा बढीको ऋण सम्पत्ति व्यवस्थापन गर्दछ ।
क्रेडका लगानीकर्ता पीकएक्सभी (PeakXV) पार्टनर्सका प्रबन्ध निर्देशक शैलेन्द्र सिंहले क्रेडको असाधारण सफलता र एउटा छुट्टै वर्ग निर्माण गर्नुको पूर्ण श्रेय कुनाल शाहलाई दिएका छन् । क्रेड स्थापना गर्नु अघि शाह भारत र दक्षिण पूर्व एसियाका विभिन्न स्टार्टअपहरूमा लगानीकर्ता र सल्लाहकार थिए । ट्र्याक्सन (Tracxn) को तथ्यांक अनुसार क्रेड अझै पूर्ण रूपमा नाफामा गइसकेको छैन । यद्यपि शाहले कम्पनीले आफ्नो पहिलो नाफामुखी त्रैमासिक हासिल गरेको दाबी गरेका छन् ।
अब क्रेडले प्राप्त नयाँ पुँजीलाई वृद्धि, संस्थागत क्षमता सुदृढीकरण र उत्पादन क्याटेगरीहरू विस्तार गर्न प्रयोग गर्नेछ । कुनाल शाहको बिदाइपछि सन् २०२० देखि कम्पनीको रणनीति र वित्तको नेतृत्व गरिरहेका मितेन सम्पतलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ । साथै, बोर्डले भविष्यमा आईपीओ निष्कासन गर्ने उद्देश्यका साथ सही नेतृत्व संरचना तयार गर्ने प्रक्रिया सुरु गरेको छ ।
भारतमा ह्वाट्सएपको अवस्था
भारत ह्वाट्सएपको सबैभन्दा ठुलो बजार हो । जहाँ यसका ५० करोडदेखि करिब ८५.३ करोड (वर्ल्ड पपुलेसन रिभ्युका अनुसार) सम्म प्रयोगकर्ताहरू छन् । ह्वाट्सएपले भारतमा मेसेजिङबाहेक भुक्तानी र व्यापारिक सेवाहरूमा आफूलाई विस्तार गरिरहेको छ । यद्यपि, अत्यधिक प्रतिस्पर्धात्मक डिजिटल भुक्तानी क्षेत्रमा आफ्नो भुक्तानी उपकरण ह्वाट्सएप पे (WhatsApp Pay) लाई लोकप्रिय बनाउन भने यो सङ्घर्ष गरिरहेको छ ।
मेटाले ह्वाट्सएपमा विज्ञापन, सशुल्क सब्स्क्रिप्सन र एआई टुलहरू मार्फत आम्दानी बढाउने प्रयास गरिरहेको छ । तर, हालैका दिनहरूमा भारतमा मेटासँगको डेटा साझेदारी र गोपनीयता नीतिहरूका कारण ह्वाट्सएपले कडा कानुनी चुनौती र छानबिनको सामना पनि गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८३ १२:१०
