close

नेपाली बजारमा प्रोटोनको 'रियर-ह्विल-ड्राइभ' ईभी भित्र्याउँदै जगदम्बा मोटर्स

टेकपाना टेकपाना

असार १७, २०८३ ८:४

नेपाली बजारमा प्रोटोनको 'रियर-ह्विल-ड्राइभ' ईभी भित्र्याउँदै जगदम्बा मोटर्स

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी प्रोटोन 'ई मास ५' नेपाली बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो 'रियर-ह्विल-ड्राइभ' कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ ।

मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले निर्माण गरेको ई मास ५ को आगमनले नेपाली ईभी बजारमा नयाँ विकल्प थप्ने कम्पनीले जनाएको छ । ई मास ५ ले दैनिक प्रयोग, सुरक्षा र सहजतालाई प्राथमिकतामा राखेर उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । रियर-ह्विल-ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहने कम्पनीको भनाइ छ । 

यी विशेषताले शहरी सडक, राजमार्ग तथा नेपालको पहाडी सडकमा पनि सुरक्षित र सहज यात्रा गर्न सहयोग पुग्ने अपेक्षा छ ।

मलेसियाली बजारमा ई मास ५ का 'प्राइम' र 'प्रिमियम' गरी दुई वटा मोडेल उपलब्ध रहेका छन् । प्राइम मोडेलमा १४.६ एफएचडी डिस्प्ले, लेदरट सिट, ७० लिटरको फ्रंक र रियर मल्टिलिंक सस्पेन्सन दिइएको छ । यसमा रहेको ३०.१२ किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्रीले २२५ किलोमिटर रेन्ज दिने प्रोटोनको वेबसाइटमा उल्लेख छ । 

यता, प्रिमियम मोडेलमा ३६० डिग्री क्यामेरा र ड्राइभर असिस्टेन्ट (एड्यास) फिचर पनि उपलब्ध रहेका छन् । यसमा भएको ४०.१६ किलोवाट आवरको ब्याट्रीले ३२५ किलोमिटरसम्म रेन्छ दिनेछ । प्रिमियम मोडेलले ३.९ सेकेन्डमै शून्यदेखि ५० किलोमिटर प्रति घण्टाको स्पिड पकड्ने उल्लेख छ । मलेसियाली बजारमा प्राइम मोडेलको मूल्य ५६ हजार ८०० मलेसियन रिङ्गिट (२० लाख ९९ हजार रुपैयाँ) र प्रिमियम मोडेलको मूल्य ६९ हजार ८०० रिङ्गिट (२५ लाख ८० हजार रुपैयाँ) रहेको छ ।

नेपाली बजारमा भने प्रोटोन ई मास ५ को मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक रूपमा सार्वजनिक हुने मितिसहितका सम्पूर्ण जानकारी आगामी केही साताभित्र सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

१ मलेसियन रिङ्गिट = ३६.९७ रुपैयाँ

पछिल्लो अध्यावधिक: असार १७, २०८३ ८:५३