समन्वय अभावले विश्वविद्यालयमा डिजिटलाइजेसन र इनोभेसन प्रभावित, उपकुलपतिहरूलाई ‘एउटै टिम’ बन्न सुझाव
असार ३१, २०८३ ८:१८
काठमाडौं । नेपालका विश्वविद्यालयहरूबिच आवश्यक प्राज्ञिक तथा प्रशासनिक समन्वयको अभावका कारण उच्च शिक्षा क्षेत्रको डिजिटल रूपान्तरण अघि बढ्न नसकेको निष्कर्ष नवनियुक्त उपकुलपतिहरूले निकालेका छन् । उनीहरूले समन्वय अभावका कारण समग्र विश्वविद्यालय प्रणाली डिजिटलाइज हुन नसकेको, आधुनिक अनुसन्धान विस्तार हुन नसकेको तथा प्रविधिमैत्री शिक्षण-सिकाइ र नवप्रवर्तन (इनोभेसन) को संस्कृति विकास हुन नसकेको विषयलाई साझा समस्याका रूपमा औँल्याएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित नेपालको उच्च शिक्षा क्षेत्रको अवस्था, चुनौती र सुधारसम्बन्धी छलफलमा नवनियुक्त उपकुलपतिहरूले यी समस्या प्रस्तुत गरेका हुन् । छलफलमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबिच आपसी समन्वय र सहकार्यको खाँचो औँल्याउँदै सबै उपकुलपतिहरूले आ-आफ्नो विश्वविद्यालयको नेतृत्व गर्नुका साथै समग्र नेपालको उच्च शिक्षा सुधारका लागि ‘एउटै टिम’ का रूपमा सहकार्य गर्न आवश्यक रहेको बताएका थिए ।
कलेजहरूको सम्बन्धन र स्थानान्तरण जस्ता प्राविधिक विषयहरू एकापसमा जोडिने भएकाले पनि विश्वविद्यालयहरूबिच एकीकृत समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो । मन्त्री पोखरेलले विश्वविद्यालयहरूको समग्र प्राज्ञिक वातावरण र व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपकुलपतिहरूलाई उच्च शिक्षाको गुणस्तर सुधारका लागि आगामी सात दिनभित्र स्पष्ट कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् ।
छलफलमा विश्वविद्यालयहरूले स्वीकृत दरबन्दीअनुसार आवश्यक जनशक्तिको अभाव, अर्बौं रुपैयाँ मूल्यका विश्वविद्यालयका जग्गा अतिक्रमणमा पर्नु र ती सम्पत्तिको प्रभावकारी संरक्षण हुन नसक्नुजस्ता समस्या पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए । छलफलपछि प्रधानमन्त्री शाहले विश्वविद्यालयहरूलाई प्राज्ञिक सुधार, आर्थिक अनुशासन, शैक्षिक वातावरण र सुशासनमा केन्द्रित हुन निर्देशन दिए ।
उनले विश्वविद्यालयका सेवा र गतिविधिलाई समयानुकूल, प्रभावकारी र विकेन्द्रीकृत बनाउन जोड दिँदै दीक्षान्त समारोह सातै प्रदेशमा आयोजना गर्न आवश्यक तयारी थाल्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको छ । यता, उपकुलपतिहरूले विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. किसनदत्त भट्ट उपस्थित थिए ।
साथै, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टा, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. देवेन्द्र अधिकारी, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. श्यामनारायण लाभ, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. राजन सुवाल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलको सहभागिता पनि रहेको थियो ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८३ ८:२५
