close

नागरिक एपको पोर्टल सर्च गर्दा देखाउँछ विदेशी भाषा, भएको के हो ?

टेकपाना टेकपाना

असार ३०, २०८३ १३:१९

नागरिक एपको पोर्टल सर्च गर्दा देखाउँछ विदेशी भाषा, भएको के हो ?

काठमाडौं । सोमबारदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा नागरिक एपको वेब पोर्टल ‘ह्याक’ भएको दाबी सहितका पोस्ट सामाजिक सञ्जालमा आइरहेका छन् । नेपाली नागरिकको अधिकांश संवेदनशील विवरण हुने प्लेटफर्म नै कम्प्रमाइज भएको भन्ने हाल्लाले नागरिक त्रशित छन् । 

विशेषगरी गुगल सर्च इन्जिनमा ‘Nagarik App Login’ कीवर्ड सर्च गर्दा इन्डेक्स भएका पेजको सूचीमा विदेशी भाषामा ‘Бакай Банк’ लेखेको देखिन्छ, जसलाई अनुवाद गर्दा किर्गिजस्तानमा रहेको ‘Bakai Bank’ भन्ने बुझिन्छ । यद्यपि, गुगल सर्चमा यस्तो देखिए पनि नागरिक एपको वेब पोर्टलभित्र प्रवेश गर्दा भने त्यस्तो कुनै अनधिकृत विवरण फेला पर्दैन र पोर्टल सामान्य रूपमै सञ्चालन भइरहेको देखिन्छ ।

 

यस विषयमा नागरिक एपका प्राविधिक प्रतिनिधिसँग बुझ्दा उनले प्रणाली वा डेटाबेस नै ह्याक भएको भन्ने दाबीलाई अस्वीकार गरेका छन् । ब्याकइन्ड प्रणाली बलियो रहेकाले प्रयोगकर्ताको डेटा सुरक्षित रहेको स्पष्ट पार्दै उनले फ्रन्टइन्ड प्रणाली केही पुरानो भएकाले यस्तो समस्या देखिएको हुन सक्ने बताएका छन् । उनी भन्छन्, “हाम्रो कम्प्रमाइज केही हुँदैन । हाम्रो ब्याकइन्ड साइबर सुरक्षाको दृष्टिकोणबाट त्यति सजिलै कम्प्रमाइज हुने खालको छैन । फ्रन्टइन्डमा केही समस्या आएको होला । यो पुरानो सिस्टम हो, फ्रन्टइन्डमा यस्ता समस्या आइरहन्छन् । यसले केही फरक पार्दैन ।”

वेबसाइटमा कतैबाट साइबर आक्रमण भएको हो वा अन्य कुनै प्राविधिक त्रुटि हो भन्नेबारे अहिले आन्तरिक रूपमा अनुसन्धान र परीक्षण भइरहेको जानकारी उनले दिएका छन् ।

साइबार सुरक्षा विज्ञका अनुसार गुगल सर्चमा यसरी अस्वाभाविक नाम देखिनुमा मुख्यतया दुई वटा कारण हुन सक्छन् । पहिलो कारण, कुनै अनधिकृत पक्षले वेबसाइटको सर्च मेटाडाेटा (जस्तै: ओपन ग्राफ ट्याग वा साइट नेम स्किमा) मा पहुँच बनाएर आफ्नै विवरण देखाउने गरी ‘एसईओ पोइजनिङ’ गरेको हुन सक्छ । 

अर्कोतर्फ, सर्भरको सोर्स वा डिएनएस/सीडीएन सेटअपमा त्रुटि हुँदा गुगलको क्राउलरले एउटा साइटको मेटाडेटा अर्को साइटसँग झुक्किएर सम्बद्ध गरिदिने ‘शेयर्ड आईपी मिसकन्फिगरेसन’ को समस्या पनि यसको कारण हुन सक्छ ।


 

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १३:१९