नेपाली विद्यार्थीहरूलाई सामसङले दियो कोडिङ-प्रोग्रामिङ तालिम, एआई कोर्सको नयाँ ब्याच सुरु
साउन ९, २०८३ १६:४५
काठमाडौं । सामसङ नेपालले ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गतको ‘कोडिङ एन्ड प्रोग्रामिङ’ कोर्स सम्पन्न गरी नयाँ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ पाठ्यक्रमका लागि आवेदन खुला गरेको छ । सन् २०२५ डिसेम्बर २२ देखि २०२६ जुन ३० सम्म सञ्चालन भएको ‘कोडिङ एन्ड प्रोग्रामिङ’ कोर्समा विद्यार्थीहरूलाई व्यावहारिक प्राविधिक सीप र उद्योगको प्रत्यक्ष अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कोर्स सफलतापूर्वक पूरा गर्ने विद्यार्थीहरूलाई एक समारोहबिच सम्मान गरिएको थियो । सामसङ नेपालले यस कार्यक्रमअन्तर्गत हरेक कोर्समा ६० जना विद्यार्थीलाई तालिम दिने गर्छ ।
सामसङको विश्वव्यापी सीएसआर भिजन ‘Together for Tomorrow! Enabling People’ अन्तर्गत सन् २०२३ देखि नेपालमा यो कार्यक्रम सुरु भएको हो । यसले प्राविधिक सीपका साथै सञ्चार, सहकार्य र आलोचनात्मक सोच जस्ता कार्यस्थलका लागि आवश्यक क्षमताहरू पनि विकास गर्ने कम्पनीको भनाइ छ ।
नयाँ एआई कोर्स व्यावहारिक शिक्षा र वास्तविक विश्वका समस्या समाधानमा केन्द्रित हुने जनाइएको छ । साथै, सामसङ नेपालले आफ्ना कर्मचारी र उद्योग विज्ञहरूमार्फत ग्र्याजुएटहरूलाई मेन्टरशिप र करियर मार्गदर्शन प्रदान गर्ने कार्यलाई निरन्तरता दिने सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले बताए ।
कम्पनीले ‘सामसङ इनोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गर्ने योजना समेत बनाएको छ । यस नेटवर्कमार्फत पूर्व विद्यार्थीहरूलाई एक-आपसमा जोडिन र सिक्न मद्दत पुग्ने उसको विश्वास छ ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८३ १७:४
