महाराजधिराज चलचित्रको फुटेज टिकटकमा राख्ने स्पट ब्वाई विरुद्ध ५१ लाख क्षतिपूर्तिको मुद्दा
साउन ११, २०८३ ७:१०
काठमाडौं । चलचित्र छायाङ्कनमा प्रयोग भएको व्यावसायिक क्यामेराको डिजिटल सिग्नलमा अनधिकृत पहुँच बनाएको अभियोगमा एक जना स्पट ब्वाई विरुद्ध मुद्दा दायर भएको छ । उनले क्यामेराको गोप्य भिडियो फुटेज मोबाइलमा तानेर टिकटकमा सार्वजनिक गरेका थिए ।
यसका कारण चलचित्रको मुख्य विषयवस्तु र गोपनीयता भङ्ग भएको निर्माताको दाबी छ । चलचित्र निर्माताले ६ दिनको छायाङ्कन पूर्ण रूपमा खेर गएको भन्दै प्रतिवादीबाट ५१ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ । प्रतिवादी नुवाकोट सूर्यगढी-२ का २७ वर्षीय मनोज अधिकारी हुन् । उनी सुदिप नामले पनि चिनिन्छन् । हाल उनी काठमाडौंको टोखा-२ गणेशथान बस्दै आएका थिए । चलचित्र महाराजधिराजका तर्फबाट नेत्रबहादुर विष्टले उनी विरुद्ध किटानी जाहेरी दिएका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोले यस घटनाको अनुसन्धान गरेको हो ।
कसरी भयो फुटेज चोरी ?
मनोज अधिकारी आफ्ना साथीमार्फत चलचित्रको छायाङ्कन टोलीमा स्पट ब्वाईका रूपमा जोडिएका थिए । उनले ३-४ जेठ २०८३ गरी २ दिन छायाङ्कन स्थलमा काम गरे ।
सो क्रममा क्यामेराको फ्रेममा देखिने फोहोर वा सामग्री हटाउन सजिलो होस् भनेर उनले आफ्नो मोबाइलमा हलिभ्यू एप डाउनलोड गरे । यो एपमार्फत उनले छायाङ्कन स्थलमा प्रयोग भइरहेको हलिल्यान्ड रिसिभरसँग आफ्नो मोबाइल कनेक्ट गरे । यसरी क्यामेराको मुख्य भिडिओ फिडमा अनधिकृत पहुँच बनाएर उनले फुटेज रेकर्ड गरे ।
चलचित्र छायाङ्कनका क्रममा खिचिएका १ मिनेट २० सेकेन्डका ३ वटा गोप्य भिडिओ क्लिपू उनको मोबाइलमा सेभ भए । उनले ती क्लिप जोडेर एउटा भिडिओ बनाए । त्यसपछि आफ्नो टिकटक अकाउन्ट (@sudip.adhikari706) बाट सार्वजनिक रूपमा पोस्ट गरे ।
६ दिनको छायाङ्कन खेर, ५१ लाख क्षति
भिडिओ बाहिरिएपछि चलचित्रको मुख्य कथावस्तु र गोपनीयता पूर्ण रूपमा नष्ट भएको निर्माण पक्षको दाबी छ । यसका कारण ६ दिन लगाएर खिचिएका फुटेजहरू काम नलाग्ने भए ।
निर्माताका अनुसार चलचित्रको दैनिक सुटिङ खर्च करिब ८ लाख ५० हजार रुपैयाँ थियो । यस आधारमा ६ दिनको कूल ५१ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । नष्ट भएको कथावस्तुलाई अब फरक ढङ्गले पुनः छायाङ्कन गर्नुपर्ने बाध्यता आइपरेको छ । त्यसका लागि थप ५१ लाख रुपैयाँ नै खर्च हुने विवरण जाहेरीमा उल्लेख छ ।
अधिकारीले बयानमा आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । टिकटकमा भिडिओ पोस्ट गरेपछि सोही चलचित्रमा कार्यरत मेकअप आर्टिस्ट बिना पाण्डेले उनलाई सचेत गराएकी थिइन् । यस्तो कार्य गैरकानुनी भएको र प्रहरी कारबाही हुन सक्ने चेतावनी उनले दिएकी थिइन् ।
चेतावनी पाएको १० मिनेटभित्रै अधिकारीले टिकटकबाट भिडिओ क्लिप हटाएको बताएका छन् । उनले त्यसयता आफ्नो अकाउन्टसमेत डिअक्टिभेट गरेका थिए । निर्मातालाई नोक्सान पुर्याउने आफ्नो कुनै नियत नभएको दाबी उनले गरेका छन् । केवल गल्तीवश भिडिओ पोस्ट हुन गएको उनको जिकिर छ ।
प्रहरीको साइबर ब्युरोले अधिकारीलाई काठमाडौंको भोटाहिति स्थित दरबार हाई स्कुलको कम्पाउण्ड दक्षिणतर्फको सार्वजनिक सडक पेटीबाट नियन्त्रणमा लिएको थियो । उनको साथबाट एउटा रेड्मी ब्रान्डको मोबाइल बरामद भएको छ । मोबाइलमा एनटीसीको सिमकार्ड प्रयोग भइरहेको थियो । बरामद मोबाइललाई प्राविधिक विश्लेषणका लागि डिजिटल फरेन्सिक ल्याब नक्साल पठाइएको छ ।
सहायक जिल्ला न्यायाधिवक्ता प्रदिप कुलुङले अदालतमा अभियोग पत्र दर्ता गरेका छन् । प्रतिवादी अधिकारीलाई विद्युतीय कारोबार ऐन, २०८३ को दफा ४८ को उपदफा (१) बमोजिम गोपनीयता भङ्गको कसुरमा सजाय गर्न माग गरिएको छ । यो दफा अनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
साथै, चलचित्र निर्माण पक्षलाई परेको वित्तीय क्षतिको हकमा ऐनको दफा ५८क र दफा ७६ बमोजिम प्रतिवादीबाट ५१ लाख रुपैयाँ क्षतिपूर्ति भराउन माग गरिएको छ । अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४२ (४) बमोजिम प्रतिवादीले बुझाउनुपर्ने क्षतिपूर्ति शुल्कसमेत निर्धारण गरिदिन माग गरिएको छ । अपराधमा प्रयोग गरिएको प्रतिवादीको मोबाइल सेट जफत गर्नसमेत सरकारी पक्षले माग गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ ८:१८
