close

सडकका पोलमा गुजुल्टिएका प्रयोगविहीन तार हटाउन किन भयो ढिलाइ ? २ मन्त्री पुगे गौशाला-बानेश्वर

टेकपाना टेकपाना

साउन १२, २०८३ ७:३४

सडकका पोलमा गुजुल्टिएका प्रयोगविहीन तार हटाउन किन भयो ढिलाइ ? २ मन्त्री पुगे गौशाला-बानेश्वर

काठमाडौं । काठमाडौं उपत्यकाका सडकका पोलहरूमा गुजुल्टिएका र प्रयोगविहीन इन्टरनेट तथा टेलिभिजनका तार हटाउने कार्यको प्रगतिबारे दुई मन्त्रीले अनुगमन गरेका छन् । सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गौशाला, पुरानो बानेश्वर र जडीबुटी क्षेत्रमा पुगेर तार व्यवस्थापनको निरीक्षण गरेका हुन् । उनीहरूले निर्धारित समयसीमाभित्र काम नसक्ने निकाय र जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने चेतावनी समेत दिए ।

अनुगमनका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणले साउन १५ भित्र काम सक्ने प्रतिबद्धता जनाए पनि अपेक्षित प्रगति नदेखिएकोमा असन्तुष्टि व्यक्त गरे । उनले नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न निर्देशन दिँदै ढिलाइ गर्ने कसैलाई पनि छुट नहुने बताए ।

"१५ साउनभित्र काम सक्ने भनिएको थियो, तर अहिलेको प्रगति सन्तोषजनक छैन," उनले भने, "यो हामी सबैको साझा कमजोरी हो, अब सबै निकाय मिलेर समाधान निकाल्नुपर्छ ।"

मन्त्री तिमिल्सिनाले प्रयोगमा नभएका तार तत्काल हटाउन र सेवा प्रदायकले नै त्यसको जिम्मेवारी लिनुपर्ने बताए । उनले काममा कुनै समस्या आए मन्त्रालयलाई जानकारी गराउन र प्राधिकरणलाई प्रभावकारी नियामकको भूमिका खेल्न निर्देशन दिए ।

यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले तार व्यवस्थापन र भूमिगत केबलिङ कार्यलाई प्रभावकारी बनाउन सबै निकाय जवाफदेही हुनुपर्ने बताए । न्युरोड क्षेत्रमा तार व्यवस्थापन भएपछि सहर सुन्दर देखिएको उदाहरण दिँदै उनले अन्य क्षेत्रमा पनि सोही अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, "यो अभियान सरकारको मात्र नभई सेवा प्रदायक र स्थानीय तहको पनि साझा लक्ष्य हुनुपर्छ । यो सहरको सुन्दरता र नागरिकको सुरक्षासँग जोडिएको विषय हो ।" मन्त्रीहरूले विद्युत् वितरणको अवस्थाबारे पनि जानकारी लिएका थिए ।

काममा भएको ढिलाइबारे नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वर्षा र तारको स्वामित्व खुल्ने ट्याग नहुँदा समस्या परेको बताए । उनले १५ साउनको लक्ष्य अबको १५ दिनभित्र पूरा गर्ने गरी काम भइरहेको जानकारी दिए । सडकमा दिउँसो काम गर्न नपाउने व्यवस्थाले पनि केही अप्ठ्यारो परेको उनको भनाइ थियो ।

प्राधिकरणले अहिले पुरानो बानेश्वर-गौशाला खण्डमा तीव्रताका साथ काम गरिरहेको र सबै सेवा प्रदायकलाई अनिवार्य रूपमा तारमा ट्याग लगाउन निर्देशन दिइसकेको छ ।

सरकारले पहिलो चरणमा त्रिपुरेश्वर-कलङ्की, जडीबुटी-पेप्सीकोला, त्रिपुरेश्वर-लाजिम्पाट, सामाखुशी-गोंगबु, कीर्तिपुर र पुरानो बानेश्वर-चाबहिल गरी ६ वटा रुटमा यो अभियान चलाइरहेको छ ।

गत ३१ असारमा सरकारले दूरसञ्चार प्राधिकरण, विद्युत् प्राधिकरण र सेवा प्रदायकहरूलाई साउन दोस्रो साताभित्र पहिलो चरणको काम सक्न निर्देशन दिएको थियो । अव्यवस्थित तारका कारण सुरक्षा जोखिम बढेको र सहरी सौन्दर्य बिग्रिएकाले सरकारले यसलाई अभियानकै रूपमा अघि बढाएको हो ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८३ ८:४५