काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा रोजगारीको आकर्षक अवसर सिर्जना भइरहेको समयमा एउटा प्रविधि कम्पनीले निकै लोभलाग्दो तलबसहितको विज्ञापन खुलाएको छ । अमेरिकी बजारमा स्थापित र नेपालमा आफ्नो बलियो उपस्थिति बनाउँदै गरेको सफ्टवेयर कम्पनी समएक्स एआई (SumX AI) ले काठमाडौं कार्यालयका लागि प्रमुख प्रविधि अधिकृत (सीटीओ) माग गरेको हो । जसको मासिक तलब ५ देखि १० लाख रुपैयाँसम्म प्रस्ताव गरिएको छ ।
नेपालमा सामान्यतया यति उच्च तलब स्केल विरलै सुन्न पाइन्छ । अनुभवी र दक्ष जनशक्तिलाई नेपालमै रोकेर उच्च तहको प्राविधिक नेतृत्व प्रदान गर्ने उद्देश्यले कम्पनीले यो आकर्षक अवसर ल्याएको हो । मासिक आकर्षक तलबका साथै यस पदमा छनोट हुने उम्मेदवारले कम्पनीको नियमानुसार स्टक अप्सन (शेयर स्वामित्वको अवसर) समेत पाउने भ्याकेन्सी नोटिसमा उल्लेख छ ।
कस्तो कम्पनी हो समएक्स एआई ?
समएक्स एआई एउटा आधुनिक र इनोभेटिभ ईआरपी प्रणाली विकास गर्ने क्लाउड-नेटिभ सास (सफ्टवेयर एज अ सर्भिस) कम्पनी हो । परम्परागत र पुराना ईआरपी प्रणालीहरू निकै झन्झटिला, महँगा र सुस्त हुने समस्यालाई समाधान गर्न यो कम्पनीको स्थापना भएको हो ।
विशेषगरी सरकारी ठेक्कापट्टा, आर्किटेक्चर, इन्जिनियरिङ तथा निर्माण क्षेत्रका परियोजनामा आधारित व्यवसायहरूका लागि यो प्रणाली डिजाइन गरिएको छ । यसले कम्पनीहरूको ब्याक-अफिस खर्चलाई ५० प्रतिशतसम्मले घटाउन मद्दत गर्ने दाबी गरिएको छ ।
यो प्रणालीले परियोजना व्यवस्थापन, बजेटिङ, टाइमशिट र लेबर ट्र्याकिङ, अप्रत्यक्ष लागत बाँडफाँड, खरिद तथा आपूर्ति, साधारण लेजर, खाता भुक्तानी र प्राप्ति तथा बहु-कम्पनी सञ्चालन र रिपोर्टिङ जस्ता सुविधाहरू प्रदान गर्दछ । यो प्रणाली विशेषगरी कडा नियमन र वित्तीय पारदर्शिता चाहिने उद्योगहरूका लागि उपयोगी छ ।
यो कम्पनी अनुभवी उद्यमी राजु कार्की (संस्थापक तथा सीईओ) को नेतृत्वमा सञ्चालित छ । जोसँग यस क्षेत्रमा २० वर्षभन्दा बढीको विशेष अनुभव छ । कम्पनीको सल्लाहकार र व्यवस्थापन टिममा यस क्षेत्रका प्रतिष्ठित विज्ञहरू आबद्ध छन् । कम्पनीको मुख्य मुख्यालय अमेरिकाको भर्जिनियामा रहे तापनि काठमाडौंस्थित इन्जिनियरिङ टिमलाई डोर्याउनका लागि यस पटक नेपालमै सीटीओको खोजी गरिएको हो ।
कम्पनीले खोजेको सीटीओले सफ्टवेयर इन्जिनियरिङ, क्यूए, डेभअप्स, क्लाउड इन्फ्रास्ट्रक्चर र सुरक्षा टोलीको नेतृत्व गर्नुपर्नेछ । यस पदका लागि आवेदन दिन कम्प्युटर साइन्स वा सफ्टवेयर इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै सफ्टवेयर इन्जिनियरिङमा १२ वर्षभन्दा बढी र इन्जिनियरिङ टोलीको नेतृत्व गरेको कम्तीमा ७ वर्षको अनुभव आवश्यक पर्नेछ ।
क्लाउड आर्किटेक्चर (एडब्लूएस, एजर वा जीसीपी), माइक्रोसर्भिसेज र साइबर सुरक्षाका क्षेत्रमा बलियो दख्खल भएका र विशेषगरी एआई तथा एलएलएमको प्रविधिमा रुचि भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । इच्छुक र योग्य नेपाली प्राविधिकहरूले कम्पनीको आधिकारिक ईमेल [email protected] मा आवेदन दिन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८३ ११:२८
