नागढुङ्गा सुरुङमार्गमा कसरी सम्भव भयो फोरजी सेवा ? यात्रु र प्रशासनलाई हुनेछन् यस्ता फाइदा
साउन १२, २०८३ १५:३२
काठमाडौं । सोमबारदेखि सञ्चालनमा आएको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गभित्र नेपाल टेलिकमले टुजी र फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । छोटो दूरीको सुरुङ भए तापनि गुडिरहेका यात्रुहरूको सुरक्षा, आकस्मिक सञ्चार पहुँच र राष्ट्रिय दायित्वलाई मध्यनजर गर्दै टेलिकमले यो सेवा विस्तार गरेको हो ।
टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार सुरुङमार्ग बाहिर रहेका कार्यालय तथा प्रशासनिक भवनहरूमा दूरसञ्चार सेवा सुनिश्चित गर्न एफटीटीएच र डेडिकेटेड लिज लाइन इन्टरनेट सेवा समेत उपलब्ध गराइएको छ ।
प्रवक्ता लामिछानेले व्यावसायिक नाफाभन्दा पनि सरकारी स्वामित्वको कम्पनीको नाताले नागरिकको जीवन रक्षा र सहजताका लागि यो पूर्वाधार तयार पारिएको स्पष्ट पारेका छन् ।
नेपालकै पहिलो आधुनिक सुरुङमार्गभित्र गुणस्तरीय सिग्नल पुर्याउन टेलिकमले विशेष प्राविधिक प्रबन्ध मिलाएको छ । सुरुङको बाहिरी क्षेत्रमा दुईवटा बीटीएस टावर जडान गरी भित्री भागसम्म सेवा प्रवाह गरिएको छ ।
सञ्चार सेवामा आउन सक्ने सम्भावित अवरोधलाई रोक्न ‘रिडन्डेन्ट लाइन’ (वैकल्पिक नेटवर्क प्रणाली) को व्यवस्था गरिएको छ । जसअन्तर्गत एउटा मुख्य अप्टिकल फाइबर लाइन काठमाडौँको बलम्बु क्षेत्रबाट र अर्को वैकल्पिक लाइन धादिङतर्फबाट सुरुङभित्र प्रवेश गराई दुईतर्फी रूपमा जोडिएको छ ।
यस प्राविधिक सुरक्षाका कारण एकतर्फको लाइनमा समस्या आए पनि अर्को मार्गबाट सेवा निरन्तर रहनेछ ।
२८०० मिटरभन्दा लामो यस सुरुङमार्गमा यात्रा गर्दा सवारी साधन बिग्रिएमा वा जाममा परेमा बाह्य सम्पर्क स्थापित गर्न यो मोबाइल सेवा कोसेढुङ्गा सावित हुने टेलिकमको विश्वास छ ।
यस सुरुङमार्गमा सञ्चार प्रणाली जडान गर्ने गृहकार्य वि.सं. २०७९ देखि नै सुरु भएको थियो । नेपाल टेलिकम र सडक विभागबिच औपचारिक सम्झौता (१ असार २०८२) हुनुभन्दा अगाडि नै यसको विस्तृत सर्भे र अध्ययन प्रतिवेदन तयार पारिएको थियो ।
करिब दुई वर्ष लगाएर सम्पन्न गरिएको यस प्रक्रियामा जाइका अन्तर्गतको जापानी प्राविधिक टोली, ठेकेदार कम्पनी ‘हाज्मा’ का प्रतिनिधि र विदेशबाट फर्किएका नेपाली दूरसञ्चार विज्ञहरूसँग विस्तृत प्राविधिक परामर्श गरिएको थियो ।
प्रवक्ता लामिछानेका अनुसार यो परियोजनाले नेपाल टेलिकमलाई भविष्यमा मुलुकभित्र निर्माण हुने अन्य सुरुङमार्गहरूमा पनि आफ्नै प्राविधिक क्षमतामा नेटवर्क स्थापित गर्न सक्ने दक्ष जनशक्ति र अनुभव प्रदान गरेको छ । अध्ययनका सबै नतिजा यस सुरुङमा प्रयोग नगरिएको भए तापनि भविष्यमा बन्ने जस्तोसुकै सुरुङमार्गमा सेवा विस्तार गर्न कम्पनी सक्षम र विश्वस्त भएको उनले बताए ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८३ १५:३२
