काठमाडौं । नेपालका एक युवाले फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका छन् । तनहुँका रविन भट्टराईले फेसबकको ‘भोइस कन्फ्युजन’ बग पत्ता लगाउन सफल भएका हुन् ।
सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत उनले एक महिनाअगाडि मात्रै बग हन्टिङ गर्ने क्रममा यो बग पत्ता लगाएका थिए । उनले पत्ता लगाएको बग अनुसार कुनै प्रयोगकर्ताले आफूले व्यवस्थापन गरिरहेको पेज कुनै ग्रुपमा शेयर गर्दा सो ग्रुपमा व्यक्तिगत प्रोफाइल नभई सोही पेजबाट शेयर भएको देखाउँथ्यो ।
यसरी पेज शेयर गर्दा फेसबुकले ‘इन्टर्याक्टिङ याज प्रोफाइल’ अर्थात व्यक्तिगत प्रोफाइलकै रुपमा प्रयोग भइरहेको देखाए पनि ग्रुपमा पेज शेयर भएपछि चेक गर्दा सो पेजबाट नै शेयर भएको भनेर देखाइएको थियो ।
यसरी प्रयोगकर्ताले एउटा भोइसबाट शेयर भएको जस्तो लागेपनि अर्कोबाट शेयर भइरहेको हुन्छ ।
यो बगका कारण प्रयोगकर्तालाई गलत इन्डिकेशन प्राप्त हुने र यसले पेजको व्यक्तिगत विवरण बाहिर आउँदा पेजको व्यवस्थापकलाई असर पर्ने भन्दै उनले सेप्टेम्बर १९ मा फेसबुकलाई रिपोर्ट गरेका थिए ।
उनको यो बग फेसबुकले अप्रुभ गर्दै अक्टोबर २१ मा उनलाई एक हजार अमेरिकी डलर अर्थात करिब एक लाख १९ हजार रुपैयाँ बाउन्टी प्रदान गर्ने बताएको छ ।
योसँगै फेसबुकले उनको नाम फेसबुकको ‘हल अफ फेम’ मा पनि उल्लेख गरेको छ ।