close

खाना डेलिभरी गर्ने फुडमाण्डुको ११ वर्षे यात्रा

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ १८:५३

खाना डेलिभरी गर्ने फुडमाण्डुको ११ वर्षे यात्रा

काठमाडौं । नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले भोलि सञ्चालनको ११ वर्ष पुरा गर्दैछ । एक ठाउँबाट अर्को ठाउँमा खाना पुर्‍याउन डिजिटल प्रविधि आत्मासाथ गरिरहेको फुडमाण्डु नेपालमा अनलाइन फुड सर्भिसकै पायोनियर कम्पनी हो ।

सन् २०१० को नोभेम्बर ११ देखि सञ्चालनमा आएको कम्पनीमा हाल काठमाडौं उपत्यकाका साथै पोखराका सयौं रेष्टुरेन्ट आवद्ध छन् । यी रेष्टुरेन्टका परिकारहरू कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत अर्डर गर्न सकिन्छ ।

साथै कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि सञ्चालन गर्दै आएको छ ।

‘सञ्चालनको एक दशकभन्दा बढीको समय हाम्रा लागि निकै महत्वपूर्ण रह्यो र यो अवधिमा हामीले निकै उतारचढावको अनुभव हासिल गर्‍यौं,’ कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारी भने, ‘ग्राहकको रुचि र मागअनुसार हामीले हाम्रा सेवालाई थप परिष्कृत गर्दै देशका थप अरु प्रमुख सहरमा सेवा विस्तारको योजना बनाएका छौं ।’

कम्पनीका अनुसार वार्षिकाेत्सवको अवसरमा विभिन्न आकर्षक छुटको समेत व्यवस्था रहेको छ । ११ दिनसम्म हरेक दिन एक हजार एक सय ११ रूपैयाँको आकर्षक कम्बो डिल तथा केही आवद्ध रेष्टुरेन्टसँगको सहकार्यमा बिल्कुलै नौलो परिकार पनि ग्राहकलाई उपलब्ध गराइने कम्पनीका ब्राण्ड, मार्केटिङ तथा बजार व्यवस्थापक प्रमुख श्यामरत्न मालीले बताए ।

हाम्रोपात्रोसँग सहकार्य हुँदै

आफ्नो बजार विस्तार गर्ने रणनीति अनुरूप कम्पनीले देशको सबैभन्दा बढी डाउनलोड भएको र रुचाइएको एप हाम्रोपात्रोसँग सहकार्य गर्ने तयारी गरेको छ । त्योसँगै हाम्रोपात्रो एपमार्फत पनि सिधै फुडमाण्डुबाट खाना अर्डर गर्न मिल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१