close

ट्विटरका सीईओले पद छाडे, भारतीय मूलका पराग अग्रवालले नेतृत्व सम्हाल्ने

टेकपाना टेकपाना

मंसिर १३, २०७८ २२:३९

ट्विटरका सीईओले पद छाडे, भारतीय मूलका पराग अग्रवालले नेतृत्व सम्हाल्ने

काठमाडौं । ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले आफ्नो पद छाडेका छन् । भारतीय मूलका पराज अग्रवाल ट्विटरको नयाँ सीईओ बनको कम्पनीले जानकारी दिएको छ । अग्रवाल ट्विटरको प्रमुख प्राविधिक अधिकृत थिए ।

डोर्सीले ट्विट गर्दै सीईओ पद छाडेको घोषणा गरेका छन् भने अग्रवालले ट्विट गर्दै भविष्यको लागि उत्साहित भएको टिप्पणी गरेका छन् । भारतको चर्चित आईआईटी बम्बेका विद्यार्थी अग्रवालले ट्विट गर्दै आफ्नो नयाँ भूमिकाबारे उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

‘हामीलाई अहिले विश्वले नै हेरिरहेको छ । यो जानकारीबारे धेरै मानिसको धेरै खाले धारणा हुन सक्छ किनकी उनीहरु सबैले ट्विटर र हाम्रो भविष्यप्रति चासो राख्छन्,’ अग्रवालले ट्विटमा लेखेका छन् ।

सीईओ पद छाडे पनि डोर्सी आगामी वर्षसम्म ट्विटरको बोर्ड सदस्यको रुपमा सक्रिय हुने बताइएको छ । अन्य सामाजिक सञ्जाल कम्पनीसँग प्रतिस्पर्धा गर्दै ट्विटरले सन् २०२३ सम्ममा आफ्नो आम्दानीलाई दोब्बर बनाउने घोषणा गरेको छ ।

सन् २००६ मा ट्विटरको स्थापना गरेका डोर्सी सन् २००७ मा सीईओ नियुक्त भएका थिए । डोर्सीले सीईओको भूमिका न्याय गर्न नसक्ने भन्दै अन्य दुई सहसंस्थापक इभ विलियम्स र बोर्ड सदस्य फ्रेड वील्सनले उनलाई सन् २००८ मा सीईओ पदबाट हटाए पनि सन् २०१५ मा उनी पुनः ट्विटरको सीईओको रुपमा फर्किएका थिए ।

डोर्सीले ट्विटरबाहेक पेमेन्ट प्रोसेसिङ कम्पनी क्वायरको पनि नेतृत्व सम्हालिरहेका छन् । डोर्सीले ट्विटरमा पर्याप्त समय नदिएको भन्दै लगानीकर्ताहरुले गत वर्षदेखि प्रश्न उठाएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२