close

साना तथा मझौला व्यवसायीका उत्पादनलाई दराजमा निःशुल्क स्थान

टेकपाना टेकपाना

मंसिर २३, २०७८ १६:२५

साना तथा मझौला व्यवसायीका उत्पादनलाई दराजमा निःशुल्क स्थान

काठमाडौं । ईकमर्स प्लेटफर्म दराजले साना तथा मझौला व्यवसायीका उत्पादनहरूलाई निःशुल्क सेवा प्रदान गर्ने भएको छ । यसका लागि बिहीवार दराज र निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघबीच एक सम्झौता भएको छ ।

नेपाली व्यवसायीका उत्पादनहरूलाई राष्ट्रियर/अन्तराष्ट्रिय ग्राहकसम्म सहजरूपमा पुयाउन यो सहकार्य गरिएको हो । सम्झौतापत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरे ।

यो सम्झौताले महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरूलाई दराजको अनलाइन शपिङमा एकीकृत गरी उनीहरूका उत्पादनलाई दराजमार्फत बिक्री वितरण कार्य गर्ने बताइएकाे छ ।

साना तथा मझौला उद्यम व्यवसाय मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको र कोभिड महामारीबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले महासंघले यसको पुनरूत्थानमा विशेष जोड दिँदै आएको छ ।

महासंघ र दराजबीचको सम्झौताअनुसार दर्ता भएका साना तथा मझौला उद्योग (एसएमईज) ले एक वर्षका लागि दराजको अनलाइन शपिङमा निःशुल्क डिस्प्ले सुविधा पाउनुको साथै त्यसका लागि आवश्यक प्रचार, दृश्यतासँगै थप सुविधासमेत पाउनेछन् ।

त्यसैगरी सम्झौता अनुसार साना तथा मझौला उद्योगलाई आफ्नो अनलाइन व्यवसाय वृद्धि गर्न सही शिक्षा र सीप दराजले प्रदान गर्नेछ ।

कोभिड १९ प्रकोपदेखि दराजले विशेषगरी एसएमईहरुलाई महामारीको आर्थिक प्रभावबाट पुनरुत्थान गर्ने कार्यमा सहयोग गर्न विभिन्न विक्रेता केन्द्रित पहलहरुको समेत सुरुवात गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२