काठमाडौं । एलन मस्क अहिलेका विश्वकै सर्वाधिक धनी व्यक्ति हुन् । उनले हाँकेका प्रायः सबै कम्पनी चर्चित र सफल छन् । पछिल्लो समय बजारमा मस्कले टेस्ला ब्राण्डमा स्मार्टफोन ल्याउने चर्चा चलेको छ ।
स्पेसएक्स, टेस्ला, स्टारलिंकजस्ता विश्वविख्यात कम्पनीका मालिक मस्कले ल्याउने भनिएको मोबाइलबारे धेरैले अनेकथरी कुरा गरिरहेका छन् ।तर के मस्कले साँच्चिकै फोन ल्याउँदै छन् त ?
बजारमा फैलिएका केही समाचारलाई आधार मान्ने हो भने विद्युतीय गाडी निर्माता टेस्ला अहिले स्मार्टफोन निर्माणमा जुटेको छ र याे टेस्ला फोन स्टारलिंकसँग जोडिने अपेक्षा गरिएको छ ।
मतलब, मंगल ग्रहमा पनि यो फोन चलाउन सकिनेछ ।
टेस्लाको नयाँ फोनबारे कुनै आधिकारिक वक्तव्य त आएको छैन । चलेको हल्लाअनुसार यो फोनमा चारवटा क्यामेरा, सोलार चार्जिङ र फ्युचरिस्टिक डिजाइन भएको स्क्रिन हुनेछ ।
‘टेस्ला मोडल पाई’ नामक फोन न्यूरोलिंकद्वारा डिजाइन गरिएको ब्रेन-फोन इन्टरफेससँगै आउन सक्नेछ ।
टेस्लाको यो स्मार्टफोनमा अन्य धेरै आधुनिक सुविधा हुने अपेक्षा गरिएको छ, जसले स्मार्टफोनको विद्यमान बजारलाई विस्थापित गर्न सक्नेछ ।
यद्यपि, अहिले चलेका सबै कुरा अफवाहमात्र हुन्, कम्पनीबाट कुनै आधिकारिक पुष्टि भने भएको छैन ।
कम्पनीले फोनको साइज, डिस्प्ले, स्क्रिन, र्याम, स्टोरेज, प्रोसेसर, ब्याट्री क्षमता र अन्य सुविधाको बारेमा कुनै पनि जानकारी सार्वजनिक गरेको छैन ।
फोनमा नेटवर्क र वाई-फाईको कुनै पनि समस्या नभई फराकिलो नेटवर्क कभरेज हुने अपेक्षा गरिएको छ । यसको फोन स्याटेलाइटमा जडान हुनेछ ।
यो फोन सन् २०२२ को अन्त्यतिर सार्वजनिक हुने हल्ला छ ।
यसको मूल्य कति होला भन्ने विषय पनि धेरैका लागि चासो बनिरहेको छ । यसमा प्रयोग हुने आधुनिक एआई सुविधाहरू मध्यनजर गर्दा भने फोन महँगो नै हुने अनुमान गर्न सकिन्छ ।
हामीले टेस्ला, स्पेसएक्स, क्रिप्टो बजारलगायतमा एलन मस्कको ठूलो सफलता देखेका छौं । बजारमा नयाँ स्वाद लिएर जान लागेको टेस्ला फोनले पनि त्यस्तै सफलता पाउँछ या पाउँदैन भन्ने कुरा चाहिँ समयले नै बताउला ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
