काठमाडौं । अँध्यारो गल्लीमा हिँड्दा मनमा डर बोकेर हिँड्नुपर्ने स्थिति अझैपनि छ । अधिकांश महिला रातमा बाहिर हिँड्न परे पहिले नै लोकेसन शेयर गर्छन् । कतिपयले नजिकका साथीभाइको साथ चाहन्छन् ।
यस्तोमा महिलाको सुरक्षालाई लक्षित गरेर बेलायतमा बनेको ‘वाकसेफ’ नामक एप निकै लोकप्रिय बनेको छ । बेलायतमा दुई महिलाको हत्याकाण्डपछि लोकप्रिय बनेको यो एपको प्रयोग बढ्दो छ ।
कम्पनीकी संस्थापक एम्मा केइ हिंसामा परेपछि एपको अवधारणासहित आएकी हुन् । स्मार्टवाचमा मुटुको धड्कन नाप्ने एप (हार्टविट) फिचरबाट प्रभावित भएर ‘वाकसेफ’ बनाएको उनले बताइन ।
उनी भन्छिन्- ‘यदि स्मार्टवाचले मुटुको धड्कन जाँच्न मिल्छ भने अप्रत्यासित घटना घट्दाको मानसिक अवस्थितिलाई मापन गर्ने एप बनाउन पनि त सम्भव छ भन्ने लाग्यो ।’
आगामी वर्ष नयाँ फिचरसहित ‘स्याट-नाभ’ (sat-nav) आउने छ, जसअन्तर्गत आफ्नो परिवार र साथीले ‘लाइभ म्याप’ ट्र्याक गर्न मिल्नेछ । यो एप पृथक यसकारण पनि छ कि, यसमा यात्रा गर्नुअघि रुटको क्राइम रेटलाई हेरेर सुरक्षित बाटो छान्न सकिन्छ ।
यो एपको प्रयोग बढाउनका लागि उनीहरूले अन्य प्लेटफर्ममा जोड्ने प्रयत्न गरिरहेको केइले बताएकी छन् ।
अहिले बेलायतमा मात्र उपलब्ध यो एप गत मार्चयता पाँच लाख ६० हजार पटक डाउनलोड भइसकेको छ ।
स्मार्टफोनका लागि ‘बिसेफ’ एप बनाएका संस्थापक रिच लार्सन आफूले प्रयोग गरेको प्रविधिले आपराधिक गतिविधिहरू कम गर्न मद्दत गर्ने विश्वास राख्छन् ।
उनले बनाएको एपमा अडियो एक्टिभेट भएको अलार्म फिचर छ, जसले घटनाको अडियो र भिडिओ रेकर्डिङ प्रयोगकर्ताले छानेको व्यक्तिसम्म जान्छ । जुन घटनाको बलियो प्रमाण बन्न सक्छ ।
उनले यो एप आफ्नी छोरी हिंसामा परेपछि सुरू गरेका थिए । उनकी छोरी भन्छिन्- ‘यदि घटना घट्नुअगावै सुरक्षासम्बन्धी एप उपलब्ध भएको भए आफूले लज्जा महसुस गर्नुपर्दैन थियो ।’ -बीबीसी