काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती नबिल बैंक लिमिटेडसँग जोडिएको छ । नबिल बैंक र डिजिटल वालेट खल्तीबीच बिहीबार भुक्तानी सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । त्यस्तै नबिल बैंकका ग्राहकले अब खल्तीको प्लेटफर्ममा उपलब्ध सबै प्रकारका डिजिटल भुक्तानीहरू गर्न सक्नेछन् ।
खल्तीमा मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन शपिङ साइटको भुक्तानीजस्ता ६० हजारभन्दा बढी सेवाको डिजिटल भुक्तानीको सुविधा छन् ।
बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सेवा उपलब्ध गराउन खल्तीसँग सहकार्य गरिएको जनाएको छ ।
आफ्नो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप भएसँगै बैंकले आफ्ना ग्राहकलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयारसमेत भएको उल्लेख गरेको छ ।