close

फ्री वाई-फाई जोन बन्दै मनास्लु

टेकपाना टेकपाना

पुस ८, २०७८ १८:२

फ्री वाई-फाई जोन बन्दै मनास्लु

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मनास्लु क्षेत्रलाई वाई-फाई जोनको रुपमा विकास गर्ने भएको छ । मनास्लु हिमाल आरोहण तथा पद यात्रामा जाने यात्रु र स्थानीयलाई लक्षित गर्दै प्राधिकरणले यो परियोजना अघि बढाएको हो ।

प्राधिकरणले देशका सम्पूर्ण पर्यटकीय क्षेत्र तथा मठ मन्दिरमा इन्टरनेट पुर्‍याउने योजना ल्याएकाे छ । यसैबीच मनास्लु क्षेत्रलाई वाई-फाई जोनको रुपमा विकास गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समेत अनुरोध गरेको थियो ।

सोही अनुरूप उक्त क्षेत्रमा इन्टरनेट विस्तार गर्ने योजनाका साथ परियोजना अघि बढाइएको प्राधिकरणले जनाएको छ । त्यसका लागि बिहीवार प्राधिकरणले राष्ट्रियस्तरमा बोलपत्र आह्वान गरेको छ ।

अनुमानित लागत १० करोडको हाराहारीमा रहेको यस परियोजनामा नेपालका इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनीले सहभागिता जनाउन पाउनेछन् ।

चालू आर्थिक वर्ष २०७८/०७९ भित्र सम्पन्न गर्ने योजनासहित प्राधिकरणले यो परियोजना अघि बढाएको हो । जसमा फाइबर लिंकमार्फत इन्टरनेट विस्तार गर्नुपर्ने जनाइएको छ । छनौट हुने सेवाप्रदायकले दुई वर्षसम्म त्यस क्षेत्रमा निःशुल्क वाईफाई सेवा दिनुपर्ने बताइएको छ । त्यस्तै इन्टरनेटको न्यूनतम स्पिड २० एमबीपीएस हुनुपर्ने छ ।

प्राधिकरणका अनुसार यो परियोजनाले उक्त क्षेत्रभित्र मात्रै फाइबर विस्तारलाई समेट्ने छ । काठमाडौंबाट त्यहाँसम्म लाने फाइबरलाई यसले समेट्ने छैन ।

त्यो हुँदा जुन सेवाप्रदायकको फाइबर नेटवर्क त्यो क्षेत्र नजिक पुगेको छ, त्यस्ता सेवाप्रदायकका लागि यो बढी प्रभावकारी हुने देखिएको छ ।

तर, यदि नजिकै फाइबर नपुगेको सेवाप्रदायकको हकमा कम्पनीले नै अन्य सेवाप्रदायकसँग शेयरिङ गरेर इन्टरनेट विस्तार गर्नुपर्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२