काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ ।
बैंकले मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेबपेजको माध्यमबाट समेत प्रयोग गर्न मिल्नेगरी डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएकाे हाे ।
बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै विनाचेक नगद निकाल्न/पठाउन मोबाइल क्यास, रकम जम्मा गर्न मोबाइल भौचरलगायतका सुविधासमेत थप गरिएको छ ।
बैंकले समान रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ मोबाइल एपको पनि स्तरोन्नति गरेको जनाएको छ ।
मोबाइल भौचरको प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, मोबाइल क्यासको माध्यमबाट प्रयोगकर्ताले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, क्यूआर कोडको माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषता रहेको बैंकले जनाएकाे छ ।
साथै मेगा स्मार्ट बैंकिङ मोबाइल एपको स्तरोन्नति भएसँगै ग्राहकले बैंकका सेवासम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दति खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोडमार्फत भुक्तानी गर्न, अनलाइन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङसम्बन्धी समस्या परेमा उजुरी दिन सकिने छ ।
बैंकमा खाता नभएका प्रयोगकर्ताले आफै रजिष्टर गरी अनलाइनबाटै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाको प्रयोग गर्न र जानकारी पाउन सक्नेछन् ।
‘डिजिटलाइज्ड बैंक’का रुपमा अघि बढिरहेको मेगा बैंकले ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधासहित नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा सञ्चालनमा ल्याइसकेको छ ।