काठमाडौं । गत मङ्सिर १ गतेदेखि जारी भएको विद्युतीय राहदानी (ई-पासपोर्ट) काे वितरण देशव्यापी बनाइने भएको छ । हालसम्म ११ जिल्लाबाट ई-पासपोर्ट वितरण सञ्चालन गरिरहेको राहदानी विभागले चाँडै नै थप नौ जिल्लामा सेवा सञ्चालन गर्ने तयारी गरेको हाे ।
हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रूपन्देही, कास्की, पर्सा, मोरङ र सुनसरीका जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट लिने व्यवस्था भएकाेमा विभागले थप जिल्लाहरूमा वितरण सुरू गर्नलागेकाे हाे ।
विभागका प्रवक्ता शरद आरनका अनुसार सेवाग्राहीले आफ्नै जिल्लाबाट सहजरुपमा ई-पासपोर्ट प्राप्त गर्नसक्ने गरी तयारी भइरहेको छ ।
हालसम्म आठ हजारभन्दा बढीले ईपासपोर्ट लिइसकेको जानकारी दिँदै उनले जिल्ला जिल्लामा वितरण कार्य सुरु भएसँगै सेवाग्राहीलाई काठमाडौं आउनुपर्ने झन्झट नहुने बताए ।
हाल राहदानी विभागबाट ई-पासपोर्ट बनाउँदा १२ हजार रुपैयाँ लाग्छ भने जिल्लाबाट बनाउँदा पाँच हजार रुपैयाँ लाग्छ । जिल्लाबाट आवेदन दिएका सेवाग्राहीलाई एक सातामै ईपासपोर्ट वितरण गरिने प्रवक्ता आरनले बताए ।
विभागबाट हरेक दिन एक हजार विद्युतीय राहदानी वितरण गर्ने क्षमता वृद्धि गर्न आवश्यक तयारी भइरहेको समेत उनले जनाए ।