close

ईमेलले कसरी गर्छ काम ?

टेकपाना टेकपाना

पुस ११, २०७८ १९:६

ईमेलले कसरी गर्छ काम ?

काठमाडौं । तपाईंले दैनिक जीवनमा पक्कै ईमेल प्रयोग गर्नुभएको छ । शैक्षिक, व्यवसायिक वा व्यक्तिगत, अहिले हरेक प्रयोजनका लागि ईमेल निकै उपयोगी छ । आज हामी यही ईमेलले कसरी काम गर्छ भन्नेबारे चर्चा गर्दैछौं ।

के हो त ईमेल ?

इलेक्ट्रोनिक मेल (ईमेल) ले कुनै पनि एक विद्युतीय डिभाइसबाट अर्को डिभाइसमा नेटवर्कको माध्यमबाट पठाइएको मेल वा सन्देशलाई बुझाउँछ । सन् १९६० मा पहिलो पटक सुरुवात भएको ईमेल १९७० देखि भने सबैका लागि उपलब्ध हुँदै आएको छ ।  

ईमेलमा प्रयोग हुने प्रोटोकल

  • आईम्याप (IMAP)
  • पप (POP)
  • एसएमटिपी (SMTP)

१. आईम्याप (IMAP)

आईम्यापले इन्टरनेट मेल एक्सेस प्रोटोकललाई जनाउँछ । ईमेल रिसिभ गर्दा यस प्रोटोकलको प्रयोग हुन्छ । ईमेल रिसिभ गर्दा आईम्यापले ईमेल सर्भर र ईमेल कलाइन्टबीच मध्यस्थकर्ताको रुपमा काम गर्छ ।

आईम्यापले लोकल डिभाइसमा मेल स्टोर वा डाउनलोड गर्दैन । अर्थात् ईमेल कुनै एउटा डिभाइसमा मात्र सीमित रहँदैन, प्रयोगकर्ताले जुनसुकै डिभाइसबाट पनि ईमेल एक्सेस गर्न सक्छन । SMTP सर्भरबाट सर्भरमा ईमेल सन्देश ट्रान्सफर गर्न प्रयोग गरिन्छ ।

२. पप (POP)

पपले पोस्ट अफिस प्रोटोकललाई जनाउँछ । प्राप्त भएको ईमेल जबसम्म प्रयोगकर्ताले ईमेल क्लाइन्ट प्रयोग गरेर लगइन गर्दैन र आफ्नो कम्प्युटर/डिभाइसमा  डाउनलोड गर्दैन, तबसम्म ईमेल क्लाइन्ट पप सर्भरमा स्टोर गरिएको हुन्छ ।

प्रयोगकर्ताले ईमेल डाउनलोड गरेपछि, ईमेल आफैं सर्भरबाट मेटिन्छ । POP, सर्भरबाट ईमेल क्लाइन्टसँग ईमेल सङ्कलन गर्न प्रयोग गरिन्छ ।

३. एसएमटिपी (SMTP)

एसएमटिपीले सिम्पल मेल ट्रान्सफर प्रोटोकललाई जनाउँछ । एउटा अकाउन्टबाट अर्को अकाउन्टमा इन्टरनेटको माध्यमबाट मेल पठाउन एसएमटिपी प्रोटोकल प्रयोग हुन्छ। विशेष रूपमा, SMTP सर्भरले ईमेल पठाउने, प्राप्त गर्ने र रिले गर्ने कार्यलाई ह्यान्डल गर्छ।

ईमेलले कसरी काम गर्छ ?

ईमेलको काम गराईबारे बुझ्नुअघि मेल सर्भर र डीएनएसबारे बुझ्न आवश्यक छ।  

१. मेल सर्भर (Mail Server) 

मेल सर्भरले युजरबाट इनकमिङ ईमेल प्राप्त गर्छ र डेलिभरीको लागि फरवार्ड गर्छ । माथि देखाइएको चित्रमा दुई इनकमिङ र दुई आउटगोइङ मेल सर्भर रहेका छन्, जसलाई क्रमश: मेल डेलिभरी एजेन्ट (MDAs) र मेल ट्रान्सफर एजेन्ट (MTAs) भनिन्छ ।  

२. डीएनएस (DNS) 

डीएनएसले डोमेन नेम सिस्टम बुझाउँछ । यसले डोमेन नेमलाई आईपी एड्रेसमा ट्रान्स्लेट गर्छ ।

पहिले सेन्डर (ईमेल पठाउने व्यक्ति)ले ईमेल पाउने व्यक्तिको ईमेल एड्रेस र मेसेज लेख्नुपर्छ । मेसेज सेन्ड गरिसकेपछि SMTP प्रोटोकलबाट  MTAs मा जान्छ ।

त्यसपछि DNS को काम सुरू हुन्छ । DNS ले ईमेल प्राप्त गर्ने प्रयोगकर्ताको सम्बन्धित MTA पत्ता लगाउन रिक्वेस्ट पठाउँछ । DNS क्षेत्रमा, प्रापक ठेगानाको डोमेनका लागि, MX रेकर्ड  (मेल एक्सचेन्जर रेकर्ड) हुन्छ ।

यो एक DNS रेकर्ड हो, जसले डोमेनको मेल सर्भर स्पेसिफाई गर्दछ । DNS लुकअप पछि, प्राप्तकर्ताको मेल सर्भरको आईपी एड्रेसका साथ अनुरोध गरिएको मेल सर्भरलाई रेस्पोन्स दिइन्छ ।

अर्को चरणमा मेल सर्भरहरूबीच मेसेज ट्रान्सफर हुन्छ । यसका लागि SMTP प्रोटोकल प्रयोग गरिन्छ । त्यसपछि हाम्रो मेसेज प्राप्तकर्ताको  मेल सर्भर (MTA) सँग रहन्छ ।

त्यसपछि मेसेज मेल डेलिभरी एजेन्टमा ट्रान्सफर गरिन्छ र फेरि  प्रापकको लाेकल कम्प्युटर/डिभाइसमा ट्रान्सफर गरिन्छ ।

यहाँ दुई प्रोटोकलहरू प्रयोग गर्न सकिन्छ। यदि हामीले POP प्रयोग गर्यौ  भने,  सम्पूर्ण ईमेल स्थानीय कम्प्युटरमा डाउनलोड हुनेछ र सर्भरमा कपि मेटिनेछ । यदि IMAP प्रोटोकल प्रयोग गरिएको हो भने, ईमेल मेसेज मेल सर्भरमै स्टोर गरिएको हुन्छ, तर प्रयोगकर्ताले लोकल कम्प्युटरमा जस्तै मेल सर्भरमा ईमेलहरू सजिलैसँग आफू अनुकूल हेरफेर गर्न सक्छन् ।

यदि ईमेल पठाउन केही त्रुटि भयो भने प्रत्येक मेल सर्भरमा मेल लाइनमा बस्छन् । यी मेलहरू मेल लाइनमा पेन्डिङ (queue) हुनेछन् ।

मेल सर्भरले ईमेल पुन: पठाउने प्रयास गरिरहने छ । एकपटक ईमेल पठाउने काम स्थायी रूपमा असफल भएपछि, मेल सर्भरले सेन्डरको  ईमेल एड्रेसमा बाउन्स ब्याक गरिदिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२