काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्यांकनको आधारमा गर्न लागेको वरिष्ठ निर्देशक र अनुगमनतर्फ निर्देशक पदको पदपूर्तिको विषयमा परेको मुद्दामा उच्च अदालत पाटलले लोकसेवा आयोगलाई थप जानकारी उपलब्ध गराउन आदेश दिएकाे छ ।
मंगलबार बबिता उप्रेती र किरण पौडेलको संयुक्त इजलासले मुद्दाकाे प्रतिवादी रहेकाे लोकसेवालाई थप जानकारी उपलब्ध गराउन आदेश दिएको हो ।
यसअघि अघिल्लो गत मंसिर २८ गते प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठलगायत सात कर्मचारीले उच्च अदालतमा बढुवाको विषयलाई लिएर रिट निवेदन दायर गरेका थिए ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।
साथै अन्तरिम आदेशका लागि पुस ७ गते छलफलका लागि बोलाइएको थियो ।
सो छलफलपछि सुनवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र किरण पौडेलको संयुक्त इजलासले विपक्षीलाई म्याद जारी गर्ने आदेश दिएको थियो ।