काठमाडौं । विषाक्त खानालाई लिएर लामो समयदेखि विरोध प्रदर्शन भएपछि एप्पलले दक्षिण भारतमा रहेको आफ्नो प्लान्ट (कारखाना) काे काम तत्कालका लागि रोकेको छ ।
विषाक्त खानाका कारण कारखानामा काम गर्ने २५० महिला कर्मचारी बिरामी परेका थिए । भने, त्यसमध्ये १५० जनालाई अस्पतालमा भर्ना नै गर्नुपरेको थियो ।
त्यसैलाई लिएर १२ दिनअघि (डिसेम्बर १८) सुरु भएको विराेध प्रर्दशन अझै जारी छ । यस्तोमा एप्पलको कारखाना सञ्चालन गर्ने ताइवानी कम्पनी ‘फक्सकन’ ले माफी माग्दै आफूहरूले घटनाको विषयमा अध्ययन गरिरहेको बताएको छ ।
‘हामी यो घटनालाई लिएर सबैसँग माफी माग्छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यसमा तत्कालै आवश्यक कदम चाल्दै सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने छौं ।’
हुन त उक्त कारखाना गएको डिसेम्बर १८ बाटै बन्द छ । यस्तोमा एप्पलले समस्या समाधान नहुँदासम्म कारखाना बन्द रहने जानकारी गराएको हो ।
‘खाना तथा बासस्थानको विषयमा देखिएको समस्याको विषयलाई लिएर हामीले हाम्रो स्वतन्त्र अडिटरमार्फत अध्ययन गरेका थियौं,’ एप्पलले भनेको छ, ‘जसमा डाइनिङ रुम र छात्रावास हाम्रो मापदण्डअनुसार नभएको पाइएको छ । यस्तोमा हामी तत्कालै सप्लायरमार्फत यसको व्यवस्थापनमा काम गरिरहेका छौं ।’
एप्पलले भारतमा सञ्चालनमा ल्याएको उक्त कारखाना ४० किलोमिटरमा फैलिएको छ । जहाँ १७ हजार कर्मचारी कार्यरत रहेका छन् । यस्तोमा तमिल नाडु सरकारले पनि फक्सकनलाई कर्मचारीको सुविधाको विषयमा तत्कालै समीक्षा गर्न निर्देशन दिएको छ ।