काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी थालेको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई आग्रह गरे ।
‘अनलाइन सञ्चार माध्यमलाई जवाफदेही र मर्यादित बनाउन आजको आवश्यक्ता हो,’ उनले भने, ‘वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं उभिने छ । स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन, सम्वर्द्धन गर्ने सवालमा इन्टरनेट वा कुनै माध्यमको आधारमा सरकारले भेदभाव नगर्ने कुरामा यहाँहरुलाई आश्वस्त पार्न चाहन्छु ।’
यसअघि भदाै २५ मा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले संघीय संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने घाेषणा गरेका थिए ।