काठमाडौं । राइड शेयरिङ एप सहाराले यात्रु तथा राइडर (सहारा पार्टनर) को बीमाको लागि अजोड इन्योरेन्ससँग सम्झौता गरेको छ ।
एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले यात्रु तथा पार्टनरका लागि पाँच लाख रुपैयाँको दुर्घटना र एक लाख रुपैयाँको उपचार बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ । यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको हो ।
यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरबाट कुनै किसिमको कमिसन नलिने घोषणा गरेको छ । उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ ।
यात्रुहरुले गुगल प्ले तथा एप्पलको एप स्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिनसक्ने छन् भने चालकहरुले गुगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् ।