काठमाडौं । गुगल फोटोजले लामो समयदेखि मोबाइल डेटामा फोटो तथा भिडिओ अपलोड गर्ने विकल्प दिँदै आएको छ । यद्यपि आफ्नो मोबाइल डेटा खर्च नहुने गरी वाई-फाईमा मात्रै ब्याकअप राख्ने विकल्प समेत रहेको थियो ।
वाई-फाई कनेक्सन धेरै प्रचलनमा नरहेका देशहरूमा भने यो फिचर हटेको छ । यसको साटो प्रयोगकर्तालाई दैनिक डेटाको सीमा तय गर्ने सुविधा दिइएको छ । यो सेटिङ गुगलले विश्वभरका लागि उपलब्ध गराएको जस्तो देखिएको छ ।
यदि तपाईं गुगल फोटोज हुँदै फोटोज सेटिङ भएर ब्याकअप एन्ड सिंकमा जानु भयो भने मोबाइल डेटा अन भएको बेला त्यहाँबाट तपाईंले दैनिक ब्याकअप सीमा तय गर्ने विकल्प देख्नु हुनेछ ।
जसमा ‘नो डेटा’ (डेटा नै नछुट्याउने), ५ एमबी, १० एमबी, ३० एमबी र अनलिमिटेड गरी दैनिक कति डेटा ब्याकअपका लागि छुट्याउने हो रोज्न सकिन्छ । यसका साथै रोमिङमा हुँदा फोटो र भिडिओ ब्याकअपका लागि छुट्टै टोगल समेत उपलब्ध छ ।
यद्यपि मोबाइल डेटामा भिडिओको ब्याकअप डिसेबल गर्ने सुविधा भने यसबाट हटेको छ । गुगलको यो रोलआउटलाई त्रुटीपूर्ण हुनसक्ने ठानिएको छ किन भने फोटोजको सपोर्ट पेजमा पुरानै सेटिङ सुझाइएको छ ।
गुगल फोटोजको आईओएस भर्सनमा समेत मोबाइल डेटामा भिडिओ ब्याकअप इनेबल तथा डिसेबल गर्ने विकल्प देखाइरहेको छ । धेरै मात्रामा डेटा नहुने र नियमित वाई-फाई सम्पर्कमा नहुने नेपाल, भारत, ब्राजिल र नाइजेरिया जस्ता मुलुकहरूका लागि दैनिक मोबाइल डेटा लिमिट सहयोगी हुने देखिन्छ ।
तर विकसित देशहरूका लागि भने यो सरोकारको विषय होइन, जहाँ प्रयोगकर्ताले तत्कालै मोबाइल डेटाबाट फोटो ब्याकअप गर्न रुचि राख्छन् । भिडिओको साइज सामान्यतया ठूलो हुने भएकाले वाई-फाईमा मात्रै ब्याकअप राख्ने कुराले बढी महत्त्व राख्छ ।