काठमाडौं । सन् २०२१ को अन्तिम त्रैमासिकमा सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन नाफा ५२.२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले शुक्रवार विज्ञप्ति जारी गर्दै कम्पनीका उत्पादनहरूको बिक्री बढ्दा सञ्चालन नाफा समेत बढेको जनाएको हो ।
कम्पनीका अनुसार सन् २०२१ को चौथो त्रैमासिकमा कम्पनीको सञ्चालन नाफा ११.५ बिलियन अमेरिकी डलर भन्दा बढी हुनेछ । जुन अघिल्लो त्रैमासिकको तुलनामा ५२.२ प्रतिशतले बढी हो । यसका साथै अघिल्लो वर्षको सोही अवधिको तुलनामा पनि कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ ।
कम्पनीले अघिल्लो वर्षको चौथो त्रैमासिकमा जम्मा ७.५२ बिलियन अमेरिकी डलर नाफा गरेको थियो । कम्पनीका अनुसार यो नाफा कुनै पनि चौमासिकमा कम्पनीले हासिल गरेको आजसम्मकै धेरै हो ।
कम्पनीको मेमोरी चिपको बढ्दो मागका कारण पनि आम्दानी बढेको जनाइएको छ । गत वर्षबाट कम्पनीले मेमोरी चिपको मूल्य बढाएर बजारमा पठाएको थियो । मूल्य बढे पनि बजारमा चिप अभाव हुँदा त्यसमा कुनै असर परेन । उल्टै चिपबाट कम्पनीले ठुलो आम्दानी गर्न सफल भएको छ ।
यसका साथै स्मार्टफोन, होम अप्लायन्स, टेलिभिजन, वासिङ मेसिन जस्ता प्रोडक्टको बिक्री पनि कम्पनीको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको जनाइएको छ । कम्पनीले शुक्रवार जारी गरेको विज्ञप्ति कम्पनीको नाफामा कुन उत्पादनको हिस्सा कति छ भनेर खुलाइएको छैन् ।