काठमाडौं । मेटाभर्स एपहरूमा प्रयोग हुने अगमेन्टेड रियालिटी (एआर) ग्लासलाई नियन्त्रण गर्ने चिप निर्माण गर्न क्वालकम र माइक्रोसफ्टले सहकार्य गरिरहेको छ ।
अमेरिकाको लस भेगसमा आयोजित एक कार्यक्रममा बोल्दै क्वालकमका प्रमुख कार्यकारी क्रिस्टियानो आमोनले डेभलपरहरूले मान्छेहरू खेल्न र काम गर्न सक्ने गरी निर्माण हुने भर्चुअल संसार मेटाभर्सको लागि आवश्यक कस्टम चिप निर्माण गर्न क्वालकम र माइक्रोसफ्ट संयुक्त रुपमा काम गरिरहेको बताएका छन् ।
यो सहकार्यबाट उत्पादन गरिने डिभाइसहरूले भविष्यमा माइक्रोसफ्टको सफ्टवेयर ‘मेस’ को लागि काम गर्नेछ जहाँ दुई व्यक्तिहरूले हेडसेटको प्रयोग गरेर टाढा रहे पनि एउटै कोठा बसेको जस्तो अनुभुति पाउँनेछन् ।
भविष्यमा उत्पादन हुने हेडसेट लगायत अन्य उपकरणमा क्वालकमको स्न्यापड्रागन स्पेसेस नामक सफ्टवेयर पनि प्रयोग हुनेछ जसको सहयोगमा प्रयोगकर्ताले डिजिटल सामग्रीलाई आफ्नो हातको इशाराले चलाउन सक्ने उनले बताए ।
आफूहरूको यो सहकार्यले अन्य कम्पनीहरूलाई पनि मेटाभर्सको भविष्य निर्माण गर्नको लागि मिलेर काम गर्न प्रेरणा दिने उनको विश्वास छ । यी चिप्स र हेडसेट बजारमा कहिले उपलब्ध हुनेछ भन्ने विषयमा भने दुवै कम्पनीबाट कुनै आधिकारिक घोषणा भइसकेको छैन ।