काठमाडौं । नेपालको लोकप्रिय डिजिटल वालेट खल्ती गुगल प्ले स्टोरबाट हराएको छ । शुक्रबारदेखि गुगल प्ले स्टोरमा खल्तीको मोबाइल एप भेटिन छोडेको हो ।
कम्पनीका सह-संस्थापक अमित अग्रवालले लगईन एक्सपायर भएकाले गुगल प्ले स्टोरबाट आफ्नो एप हटेको बताए । ‘एप रिभ्यु गर्दा गुगल प्ले स्टोरमा लगईन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर त्यही समयमा लगईन नै एक्सपायर (म्याद गुज्रिएको) भएकाले केही समयका लागि प्ले स्टोरबाट एप हटेको हो ।’
उनका अनुसार नयाँ लगईनका लागि अनुरोध गरिएको र विकेन्ड (हप्ताको अन्त्यतिर) परेकाले समयमै लगईन एक्सेसमा नआएको हो । ‘अबको एक दुई दिनमा एप पुनः प्ले स्टोरबाटै डाउनलोड गर्न सकिनेछ,’ उनले भने तत्कालका लागि हामीले छुट्टै लिङ्कमार्फत एपीके डाउनलोड गर्न सकिने व्यवस्था मिलाएका छौँ ।’
सानो ‘कम्लायन्स’ (निश्चित मापदन्ड तथा आवश्यकता) पूरा गर्न नसक्दा एप डेलभपरहरूको एप प्ले स्टोरबाट हट्न सक्छ । खल्तीको हकमा भने ‘टेस्ट क्रेडेन्सियन्सल’ समयमै उपलब्ध गराउन नसकेका कारणले एप प्ले स्टोरबाट हटेको कम्पनीका प्रमुख प्राविधिक अधिकृत ध्रुव अधिकारीको भनाई छ ।
गुगल प्ले स्टोरको नियम अनुसार हरेक डेभलपरले आफ्नो एप कुन कुन लोकेसनमा खुल्ने, लगईन चाहिने वा नचाहिने जस्ता कुराहरू डिक्लेर (घोषणा वा उल्लेख) गर्नुपर्ने हुन्छ । त्यसका लागि लग-ईन क्रेडेन्सियल (युजरनेम तथा पासवर्ड) आवश्यक पर्दछ ।
गुगल प्ले स्टोरबाट खल्तीको मोबाइल एप गायब भए पनि आईओएस एप स्टोरमा भने यथावत रुपमा रहेको छ ।