काठमाडौं । आगामी माघ ७ गतेका लागि तोकिएको नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन कार्यक्रम अनिश्चितकालका स्थगित भएको छ । कोभिड-१९ संक्रमणको बढ्दो जोखिमका कारण भन्दै अर्को सूचना नभएसम्म एशोसिएसनले निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।
एशोसिएसनको ३३औं केन्द्रीयकारिणी समिति, सातै प्रदेश दोस्रो कार्कारिणी समिति र नेपाल इन्जनियर परिषद्को सदस्यका लागि निर्वाचन कार्यक्रम गर्ने तालिका थियो ।
यसअघि पनि पाँच पटकसम्म विभिन्न कारण देखाउँदै एशोसिएसनको निर्वाचन रद्द गर्दै, नयाँ कार्यतालिका प्रकाशन हुँदै आएको थियो । विवादका कारण पटक-पटक निर्वाचन कार्यक्रम सर्दै आएपछि एशोसिएसनको क्षमतामाथि नै प्रश्न उठिरहेका छन् ।
विभिन्न इन्जिनियर समूह र मतदाताहरूले वैकल्पिक विधिबाट भएपनि निर्वाचन गराउन माग गरेका छन् । तर इन्जिनियरको छाता संगठन नै प्रविधि प्रयोगमा विश्वस्त हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।
निर्वाचनका लागि छुट्टै प्यानलसहित प्रस्तुत भएको एकीकृत प्रगतिशिल इन्जिनियर समूहले हालै एशोसिएसनसामु निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था गर्न माग गरेको छ ।
सोमबार राष्ट्रिय अनलाइन भेलापछि १३ बुँदे कुपण्डोल घोषणापत्र जारी गर्दै सो समूहले यसअघि पाँच पटकसम्म निर्वाचन स्थगन गरिएको प्रति खेद प्रकट गरेको छ ।
सो समूहले ई-भोटिङ वा अनलाइन भोटिङबाट समेत निर्वाचन गर्न सकिने आधार दिँदै छिटोभन्दा छिटो निर्वाचनको सुनिश्चितता गर्न माग गरेको छ ।
यसका लागि निर्वाचनमा उठेका पाँचजनै अध्यक्षका उम्मेदवार र उनीहरुको समूहले प्रविधिमैत्री चुनावको साझा संकल्प प्रस्ताव पास गरेर निकास दिन सो समूहले आग्रह गरेको छ ।
साथै अन्य समूह र व्यक्तिगत स्तरबाट समेत प्रविधि प्रयोगका लागि एशोसिएनलाई दबाब आइरहेको छ । तर पटक-पटक अनलाइन भोटिङको विषय छलफलको एजेन्डा बनेपनि एशोसिएसनले ठोस निर्णय निकाल्न सकेको छैन ।
‘साथीहरुबीच अनलाइन भोटिङका विषयमा सैद्धान्तिक बेमेल छैन । केही व्यवहारिक पक्षमा काम भयो भने यो विधिबाट निर्वाचन हुनसक्छ,’ एशोसिएसनका अध्यक्ष घनश्याम भट्टराईले भने ।
अहिले अलग-अलग सिस्टममा डेटा भएको र इन्फर्मेशन अपडेटसमेत नहुँदा तत्काल अनलाइन भोटिङ गर्न नसकिएको उनको भनाइ छ ।
‘इन्फर्मेशन अपडेट र केही प्राविधिक पक्षकाे काम हुने र साथीहरुबीच सहमति जुट्यो भने अनलाइन भोटिङ गर्न कुनै समस्या हुन्छ जस्तो लाग्दैन,’ उनले भने ।