close

आजदेखि भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ हुँदै

टेकपाना टेकपाना

माघ ६, २०७८ ८:३३

आजदेखि भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । कोरोना सङ्क्रमण तीव रूपमा फैलिएपछि विशेष अदालतले नियमित सेवा प्रवाहमा सङ्कुचन गरेको छ । मङ्गलबार सर्वोच्चको पूर्ण बैठकको निर्णयअनुसार अदालतले सेवा प्रवाह कटौतीको सूचना जारी गरेको हो ।

माघ ६ देखि लागू हुने गरी माघ १८ सम्म सेवा कटौती गरिएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । अदालतले थुनुवा भएका मुद्दाबाहेकका अन्य सबै मुद्दाको साप्ताहिक र दैनिक पेसी सूचीअनुसारको सुनुवाइ स्थगन गरेको छ ।

यस्तै साक्षीको बकपत्र, हाजिर हुन आउने तथा वारेसका निवेदनको पेसी पनि स्थगन गरेको छ । धरौटी फिर्ता, रोक्का फुकुवालगायतका सेवा पनि अदालतले बन्द गरेको छ ।

फैसला तथा अन्य कागजात प्रमाणित गर्ने सम्पूर्ण सेवा पनि अदालतले स्थगन गरेको छ । थुनुवा मुद्दाको सुनुवाइ पनि भर्चुअल माध्यमबाट गरिने अदालतद्वारा जारी सूचनामा उल्लेख छ । अन्य सेवा बन्द भए पनि मुद्दा दर्तालगायतका प्रक्रिया भने यस अवधिमा पनि जारी रहनेछन् ।

अभियोग पत्रसाथ उपस्थित गराइएका अभियुक्तको थुनछेक प्रक्रिया, म्याद थपलगायत प्रक्रिया पनि भर्चुअल माध्यमबाटै सञ्चालित रहनेछन् । सेवा प्रवाह स्थगनको अवधिका मुद्दा तथा निवेदनहरूमा रहेको म्याद, हदम्याद र तारेख नगुज्रने अदालतको सूचनामा उल्लेख छ ।

अदालतले आन्तरिक परिस्थिति र कोरोना सङ्क्रमण मूल्याङ्कन गरेर मात्र सेवासम्बन्धी अर्को निर्णय हुने पनि जनाएको छ । यसअघि सर्वोच्च अदालतले दिने सेवामा बुधबारदेखि लागू हुने गरी कटौती गरिएको थियो ।

यद्यपि, मौलिक हकसँग सम्बन्धित, जनस्वास्थ्यसँग सम्बन्धित र बन्दीका रिटहरूमा सुनुवाइ हुनेछ । -गोरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२