close

अब ईसेवाबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

माघ १३, २०७८ ८:४२

अब ईसेवाबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने

काठमाडौं । अब अनलाइनबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने भएकाे छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र ई-सेवाबीच बुधबार सम्झौता भएसँगै अब उपत्यकाबासी खानेपानी उपभोक्ताहरूले अनलाइनबाटै खानेपानीको महसुल तिर्नसक्ने भएका हुन् ।

खानेपानीको बिल अनलाइन भुक्तानी सेवा दिनका लागि पहिलो चरणमा ईसेवा फोनपे प्रालि छनौटमा परेको थियो । छनौट भएका अन्य सेवा प्रदायक संस्थाहरूसँग पनि सम्झौता गर्ने तयारी भइरहेको केयूकेएलले जनाएको छ ।

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले चाँडै नै एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकसँग पनि सम्झौता गर्ने तयारी भइरहेकाे बताए ।

उनका अनुसार अबकाे केही दिनमै ई-सेवाबाट भुक्तानी सेवाकाे परीक्षण गरिने फागुन १ देखि सबै उपभोक्ताका लागि सेवा उपलब्ध गराइने छ ।

ग्राहकबाट अनलाइन मार्फत महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउन भन्दै केयूकेएलले गत कात्तिक १२ मा इच्छुक सेवाप्रदायकहरूबाट प्रस्ताव माग गरेको थियो । जसका लागि सात ओटा वालेट र चार ओटा बैंकले प्रस्ताव दर्ता गराएका थिए ।

यसअन्तर्गत ईसेवा, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक छनौट भएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२