close

ट्वीटरलाई ५ वटा अकाउन्ट हटाउन नेपाल सरकारको अनुरोध

टेकपाना टेकपाना

माघ १३, २०७८ १५:४८

ट्वीटरलाई ५ वटा अकाउन्ट हटाउन नेपाल सरकारको अनुरोध

काठमाडौं । नेपाल सरकारले सन् २०२१ को पहिलो ६ महिना (जनवरीदेखी जुन) सम्म पाँचजना प्रयोगकर्ताको ट्वीटर अकाउन्ट हटाउन अनुरोध गरेको पाइएको छ । ट्वीटरले मंगलबार सन् २०२१ को पहिलो ६ महिनाको ‘इन्फर्मेशन रिक्वेस्ट रिपोर्ट’ सार्वजनिक गर्दै यस विषयमा जानकारी दिएकाे हो ।

सरकार तथा सुरक्षा निकायले गरेको मागका आधारमा तयार पारिएको उक्त प्रतिवेदन अनुसार यो अवधिमा विश्वभरबाट कूल १२ हजार ३६९ वटा जानकारी मागिएका छन् । जुन सन् २०२० को अन्तिम ६ महिनाको तुलनामा ३६.२ प्रतिशतले कम हो ।

ट्वीटरका अनुसार यो तथ्याङ्कमा कुनै अकाउन्टको जानकारी मागिएको, कुनै अकाउन्ट हटाउन अनुराेध तथा गुनासो गरिएको सबै समेटिएका छन् ।

त्यसमध्ये सन् २०२१ को पहिलो ६ महिनामा नेपालको तर्फबाट अकाउन्टको जानकारी लिने हिसाबले कुनै निवेदन नपरेको पाइएको छ ।

तर, अकाउन्ट हटाउन कूल पाँचवटा अनुराेध परेको छ । त्यसमध्ये एउटा निवेदन अदालतको निर्णयसहित आएको र बाँकी सरकारी तथा सुरक्षा निकायबाट आएको निवेदन छ ।

ट्वीटरले हरेक ६ महिनामा यस्तो जानकारी सार्वजनिक गर्दै आएको छ । जसमा सन् २०१२ को जनवरीदेखि २०२१ को जुनसम्म कूल २४ वटा अकाउन्टकाे विषयमा नेपाल सरकारले जानकारी माग गरेको छ ।

उक्त अवधिमा कूल ३० वटा अकाउन्ट हटाउन निवेदन परेका छन् । तर कुन कुन अकाउन्टकाे जानकारी मागिएको हाे भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

तर, प्राप्त निवेदनका आधारमा सन् २०२१ को पहिलो ६ महिनामा ८० प्रतिशत अकाउन्ट हटाइएको ट्वीटरकाे प्रतिवेदनमा उल्लेख छ । यसरी जानकारी माग्नेमा सबैभन्दा अघि अमेरिका र दाेस्रोमा भारत छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२