काठमाडौं । ह्वाट्सएपको डेटा एन्ड्रोइड र आईओएस क्लाउडमा ब्याकअपको रुपमा राख्न सकिन्छ । आई-क्लाउडले ह्वाट्सएपका लागि सीमित स्टोरेज मात्रै दिने गर्दछ भने गुगल ड्राइभले त्यसका लागि अनलिमिटेड स्टोरेज प्रदान गर्दछ ।
यद्यपि गुगलले यो अनलिमिटेड स्टोरेजको सुविधा निकट भविष्यमै परिवर्तन गर्न सक्छ । यदि त्यसो भएको अवस्थामा पनि तपाईँले गुगल ड्राइभको १५ जीबी सीमाभित्र ह्वाट्सएपको ब्याकअप व्यवस्थापन गर्न सक्नुहुन्छ ।
आज हामी तपाईँलाई ह्वाट्सएपको च्याट गुगल ड्राइभमा कसरी ब्याकअप गर्ने भन्ने विषयमा बताउँदैछौँ । ह्वाट्सएपको ब्याकअप निकै महत्त्वपूर्ण छ किन भने यदि तपाईँ एन्ड्रोइड फोन चलाउनुहुन्छ र नयाँ फोन खरिद गर्नु भयो भने ब्याकअप नराख्दा पुराना सबै च्याट तथा त्यसमा रहेका फाइल हराउन सक्छन् ।
कसरी राख्ने ब्याकअप ?
यसका लागि सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड फोनमा ह्वाट्सएप च्याट खोल्नुहोस् । त्यसपछि माथि दायाँ कुनामा रहेको तीन थोप्ला भएको बटनमा दबाउनुहोस् र त्यसभित्र रहेको सेटिङमा जानुहोस् ।
अब च्याट्स अप्सनमा जानुहोस् र च्याट ब्याकअप छनौट गर्नुहोस् । त्यहाँ रहेको ब्याक अप टु गुगल ड्राइभ अप्सनमा जानुहोस् । अब कति समयको अन्तरालमा ह्वाट्सएप च्याट ब्याकअप गर्न चाहनुहुन्छ त्यसअनुसार नेभर बाहेकको अप्सन छान्नुहोस् ।
उदाहरणको लागि यदि तपाईँले विक्ली अप्सन छान्नु भयो भने ह्वाट्सएपमा रहेको च्याट साप्ताहिक रुपमा स्वतः तपाईँको गुगल ड्राइभमा ब्याकअप हुनेछ । अब गुगल अकाउन्टको अप्सनमा जानुहोस् र आफूले ह्वाट्सएप च्याट ब्याकअप राख्न चाहेको जिमेल अकाउन्ट राख्नुहोस् ।
यति गरिसकेपछि ब्याकअप ओभरमा थिच्नुहोस् र वाई-फाई अथवा वाई-फाई तथा मोबाइल डेटा दुवै मध्ये कुनै एक अप्सन छनौट गर्नुहोस् । यसमा पहिलो विकल्प छनौट गर्दा तपाईँको मोबाइल वाई-फाईमा कनेक्ट हुँदाको अवस्थामा मात्रै ह्वाट्सएप च्याट ब्याकअप हुनेछ ।
त्यस्तै अर्को वाई-फाई अर सेलुलरको अप्सन छनौट गर्दा वाई-फाई अथवा मोबाइल डेटा जुनसुकै इन्टरनेट भए पनि च्याट ब्याकअप हुनेछ । यसमा तपाईँले वाई-फाई छनौट गर्दा राम्रो हुन्छ ।
किन भने सेलुलरमा तपाईँको मोबाइल डेटा धेरै खपत भइदिन सक्छ । यो सबै सेटिङ मिलाइसकेपछि सुरुमा रहेको ब्याकअप बटनमा थिच्नुहोस् । यहाँनिर के कुरा ख्याल राख्नुहोस् भने यसरी गुगल ड्राइभमा ब्याकअप गरिएको तपाईँको च्याटमा ह्वाट्सएपको इन्ड-टु-इन्ड इन्क्रिप्सनले काम गर्दैन ।