close

क्रिप्टोकरेन्सीमा ४ लाख नेपालीको लगानी !

टेकपाना टेकपाना

माघ १८, २०७८ १७:४३

क्रिप्टोकरेन्सीमा ४ लाख नेपालीको लगानी !

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी कारोबार कानूनतः प्रतिबन्धित छ । तर एक प्रतिवेदनका अनुसार लाखौं नेपालीले यस्तो अभौतिक मुद्रा कारोबार गरिरहेको पाइएको छ ।

सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ‘ट्रिपल ए’ ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्यामध्ये १.४५ प्रतिशतले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । यसको अर्थ हो, नेपालमा पनि क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको संख्या करिब चार लाख २४ हजार छ ।

नेपाल सरकारले भने क्रिप्टोकरेन्सी सम्बन्धित कुनै पनि कारोबारलाई प्रतिबन्ध लगाएको छ । हालै मात्र नेपाल राष्ट्र बैंकले पनि क्रिप्टोकरेन्सी नेपालभित्र नभई देशबाहिर रहेका सबै नेपालीका लागि क्रिप्टोकरेन्सी प्रयोगमा प्रतिबन्ध रहेको उल्लेख गरेको छ ।

योसँगै क्रिप्टोकरेन्सीमा संलग्न केही व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ पनि गरेको छ ।

यसरी क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्ने विश्वका नौ देशमध्ये नेपाल पनि एक हो । नेपालसँगै चीन, अल्जेरिया, बंगलादेश, इजिप्ट, इराक, मोरोक्को, कतार र तुनासियामा पनि क्रिप्टोकरेन्सी प्रतिबन्धित छ ।

नेपालकै छिमेकी राष्ट्र भारत भने विश्वमा सबैभन्दा बढी क्रिप्टो प्रयोगकर्ता भएको देश रहेको सो प्रतिवेदनमा उल्लेख गरेको छ । भारतमा करिब १० करोड क्रिप्टोकरेन्सी प्रयोगकर्ता छन् ।

त्यस्तै दोस्रोमा अमेरिकाका दुई करोड ७० लाख, तेस्रोमा नाइजेरियाका एक करोड ३० लाख, चौथौमा भियतनामका ५९ लाख र पाँचौंमा बेलायतका ३३ लाख प्रयोगकर्ता रहेका छन् ।

केही देशका प्रतिबन्ध हुँदा विश्वभर क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको संख्या ३० करोड नाघेको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी क्रिप्टोकरेन्सी प्रयोगकर्ताको संख्या एसिया महादेशमा रहेको छ ।

एसियामा १६ करोड क्रिप्टोकरेन्सी प्रयोगकर्ता छन् । त्यसपछि सबैभन्दा धेरै क्रिप्टो प्रयोगकर्ता युरोपमा रहेको छ । युरोपमा तीन करोड ८० लाख क्रिप्टो प्रयोगकर्ता रहेका छन् ।

त्यसैगरी अफ्रिकी क्षेत्रमा तीन करोड २० लाख, उत्तर अमेरिकामा दुई करोड ८० लाख, दक्षिण अमेरिकामा दुई करोड ४० लाख र ओसियनिया (अन्टार्टिका) महादेशमा १० लाख प्रयोगकर्ता रहेका छन् ।

विश्वभरका प्रयोगकर्तामध्ये ७९ प्रतिशत पुरुष र २१ प्रतिशत महिला रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ५८ प्रतिशत प्रयोगकर्ता ३४ वर्षभन्दा कम उमेरका रहेका छन् ।

विश्वभरका कूल प्रयोगकर्तामध्ये ८२ प्रतिशत लगानीकर्ता स्नातक उत्तीर्ण छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५