काठमाडौं । कतारमा यसै वर्ष हुन गइरहेको विश्व कप फुटबल प्रतियोगितामा प्रयोग हुने नयाँ ‘रोबोट रेफ्री’ प्रविधि परीक्षणको अनुभव गर्नेमा चेल्सी पहिलो इङ्गलिस क्लब बन्ने भएको छ । नयाँ लिम्ब-ट्र्याकिङ प्रविधिले भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) ले भन्दा पनि छिटो अफसाइड भएको कुरा पत्ता लगाउने बताइएको छ ।
यो रोबोटले ३० सेकेन्ड भित्रै अफसाइड भए नभएको पत्ता लगाउन सक्छ । हाल भइरहेको अरब कपमा यो प्रविधिको सफल परीक्षण पछि आउँदो नोभेम्बरमा कतारमा हुने विश्वकपमा पनि यो प्रयोग गर्ने फिफाको योजना छ ।
बिहीबारबाट सुरु हुने क्लब वर्ल्डकपमा पनि परीक्षणको रुपमा यो प्रविधि प्रयोग हुँदैछ । जसमा यो प्रविधिमा रहेर खेल्ने चेल्सी पहिलो इङ्गलिस क्लब हुनेछ ।
अर्धस्वचालित (सेमी-अटोमेटिक) रुपमा निर्णय गर्न सक्ने यो प्रणालीले स्टेडियमको माथीबाट १२ ओटा क्यामेरा प्रयोग गरी खेलाडी र बलको मुभमेन्टलाई निगरानी गर्नेछ । यदि कुनै खेलाडी अफसाइड स्थितिमा छ भने ट्र्याकिङ प्रणालीले भीएआर अपरेटरलाई आधा सेकेन्ड भित्रै अलर्ट पठाउँछ ।
क्लब वर्ल्डकपमा चेल्सीको पहिलो खेल फेब्रुअरी ९ तारिखमा ताहितीको एएस पिरे, अबु धाबीको अल जजिरा वा साउदी अरेबियाको अल हिलालसँग हुनेछ।