काठमाडौं । तोसिबाले पावर सेमिकन्डक्टरका लागि नयाँ ३०० मिलिमिटर वेफर फेब्रिकेशन निर्माण गर्ने घोषणा गरेको छ, जसले कम्पनीको पावर चिप उत्पादनलाई दोब्बर बनाउने कम्पनीको दाबी छ ।
हाल कम्पनीले २०० मिलिमिटरको लाइनबाट सेमिकन्डक्टर उत्पादन गरिरहेको छ । कम्पनीले सन् २०२४ बाट दोब्बर उत्पादन थाल्ने बताएको छ ।
नयाँ फ्यासिलिटिहरूको निर्माण सन् २०२३ देखि दुई चरणमा सुरु हुनेछ । यो तयार भइसकेपछि कम्पनीले हाल उत्पादन गरिरहेको सेमिकन्डक्टरभन्दा साढे दुई गुणाले बढी उत्पादन हुने कम्पनीको भनाइ छ ।
विश्वभर कार तथा अन्य विद्युतीय उपकरणहरूले चिप अभाव भोगिरहेको बेला कम्पनीले यस्तो घोषणा गरेको हो ।
चिप अभावका कारण नै अटोमोबाइल उद्योगले मात्र करिब २१० अर्ब डलरको आम्दानी गुमाइसकेको अनुमान गरिएको छ । आगामी दिनमा आफ्नो क्षमतालाई थप वृद्धि गर्दै जाने कम्पनीले बताएको छ ।