close

क्रिप्टोकरेन्सी र हाइपर फन्डसँग सम्बन्धित वेबसाइट बन्द गर्दै सरकार

टेकपाना टेकपाना

माघ २५, २०७८ १६:३५

क्रिप्टोकरेन्सी र हाइपर फन्डसँग सम्बन्धित वेबसाइट बन्द गर्दै सरकार

काठमाडौं । हाइपर नेटवर्किङ र क्रिप्टो कारोबारसँग सम्बन्धित वेबसाइट तथा एपमाथि सरकारले प्रतिबन्ध गर्ने तयारी गरेको छ । नेपालमा यस्तो कारोबार गैरकानूनी भएकाले यससँग सम्बन्धित वेबसाइट र एप बन्द गर्ने तयारी भएको हो ।

नेपाल राष्ट्र बैंकको सिफारिसअनुसार अर्थ मन्त्रालयले यस्ता प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गरेको बुझिएको छ । जसअनुसार मन्त्रालयको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणलाई त्यस्ता वेबसाइट बन्द गर्न लगाउने तयारी भएको छ ।

यसअघि अर्थ मन्त्रालयले हाइपर नेटवर्किङ र क्रिप्टो कारोबारसँग सम्बन्धित उच्चस्तरीय ‘टास्कफोर्स’ बनाउने तयारी गरेको विषय बाहिरिएको थियो ।

उक्त टास्कफोर्समा राष्ट्र बैंक, दूरसञ्चार प्राधिकरण, राजस्व अनुसन्धान विभाग, सबै सुरक्षा निकाय र अर्थ मन्त्रालय मातहतका निकायलाई समेटिने जनाइएको थियो ।

टास्कफोर्समा दूरसञ्चार प्राधिकरणलाई समेट्नुको एउटा उद्देश्य नै यही रहेको जनाइएको छ ।

त्यसका लागि राष्ट्र बैंकले हाइपर नेटवर्क तथा क्रिप्टो करेन्सी कारोबारसँग सम्बन्धित वेबसाइटको पहिचान गर्नेछ । भने, त्यसरी पहिचान भएका वेबसाइटलाई अर्थ मन्त्रालयको अनुरोधमा सञ्चार मन्त्रालयले प्राधिकरणलाई जानकारी गराउने छ ।

त्यसपश्चात् प्राधिकरणले आफ्ना मातहतमा रहेका सेवा प्रदायकलाई त्यस्ता वेबसाइटमा प्रतिबन्ध लगाउन निर्देशन दिनसक्ने छ ।

यसका लागि दूरसञ्चार प्राधिकरणमा मौखिक राय मागिएको स्रोतले जनाएको छ । यसअघि राष्ट्र बैंकको अनुरोधमा प्राधिकरणले अनलाइन बेटिङ वेबसाइट ‘वान एक्सबेट’ लाई प्रतिबन्ध लगाइसकेको छ ।

यस्तोमा नेपालमा क्रिप्टो कारोबारका लागि प्रयोग भइरहेको वेबसाइट तथा एपमाथि समेत प्रतिबन्ध गर्ने तयारी भएको अनुमान लगाउन सकिन्छ ।

तर, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पाेखरेलले आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२