close

३३ स्थानीय तहमा अझै पुगेन फोरजी

टेकपाना टेकपाना

माघ २७, २०७८ १९:१०

३३ स्थानीय तहमा अझै पुगेन फोरजी

काठमाडौं । मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजी अहिले विभिन्न देशमा विस्तार हुँदैछ । कतिपय देशमा यसको परीक्षण भइरहेको छ । अझ चीन लगायतका केही देशले सिक्सजीमा अध्ययन अघि बढाइसकेका छन् ।

तर, नेपालमा भने अझै फोरजी विस्तारको काम सम्पन्न भएको छैन । अर्थ मन्त्रालयले बिहीबार प्रस्तुत गरेको चालू आवमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार अझै देशका ३३ स्थानीय तह फोरजीको पहुँचबाहिर रहेका छन् ।

प्रतिवेदन अनुसार हालसम्म देशका कूल ७५३ मध्ये ७२० स्थानीय तहमा मात्रै फोरजी सेवा पुगेको छ ।

हाल नेपालमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम, एनसेल आजियटा, स्मार्ट टेलिकमले फोरजी सेवा विस्तार गरिरहेका छन् ।

त्यसमध्ये सबैभन्दा बढी फोरजी विस्तारको काम सरकारी स्वामित्वको नेपाल टेलिकमले गरेको छ । ग्राहक संख्यामा पनि टेलिकम नै अघि छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको मंसिर महिनासम्मको तथ्याङ्क अनुसार टेलिकमका फोरजी प्रयोगकर्ता ८१ लाख ७४ हजार भन्दा बढी छन् ।

त्यस्तै एनसेल आजियटाका फोरजी प्रयोगकर्ता ६१ लाख ४८ हजारभन्दा बढी छन् । त्यस्तै अन्तिम स्थानमा स्मार्ट टेलिकम छ, जसका फोरजी ग्राहक एक लाख ६० हजार छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२