close

हाइ-ईन्ड स्मार्टफोनमा एप्पललाई पछि पार्ने योजनामा साओमी

टेकपाना टेकपाना

फागुन १, २०७८ १२:२६

हाइ-ईन्ड स्मार्टफोनमा एप्पललाई पछि पार्ने योजनामा साओमी

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफ्नो बजार विस्तारका लागि हाइ-ईन्ड स्मार्टफोनमा लगानी गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेई जुनले हाइ-ईन्डमा एप्पलको उपस्थितिलाई चुनौती दिनेगरी अब साओमी प्रस्तुत हुने बताएका छन् ।

यसका लागि उनले आफ्ना कर्मचारीलाई आगामी तीन वर्षभित्र मोबाइल बिक्रीका आधारमा विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीका रुपमा स्थापित हुनेगरी काम गर्न निर्देशन दिएका छन् । त्यसका लागि कम्पनीले हाई–इन्ड स्मार्टफोनमा जोड दिने उनको भनाइ छ ।

हाल कम्पनीले साओमी (यसअघि मि), रेड्मी र पोको गरी तीन फरक ब्राण्डमा सस्तो मूल्यमा एन्ड्रोइड फोन उपलब्ध गराइरहेको छ । यता एप्पल भने प्रिमियम स्मार्टफोनका लागि परिचित छ ।

यस्तोमा साओमीले एप्पलको उक्त ट्यागलाइनसँग प्रतिस्पर्धा गर्ने रणनीति ल्याउन लागेकाे हो । यसको सुरुवात कम्पनीले सन् २०२१ बाटै गरेको छ ।

१७ प्रतिशत मार्केट शेयरका साथ विश्वकै दोस्रो ठूलो स्मार्टफोनको कम्पनी रुपमा स्थापित भएसँगै त्यसबेला कम्पनीले अबको फोकस हाइ-ईन्डमा भएको जनाउ दिएको थियो ।

त्यसबेला सामसङको मार्केट शेयर १९ प्रतिशत र एप्पलको १४ प्रतिशत थियो । तर, जब आईफोन १३ सिरिज सार्वजनिक भयो, एप्पल २२ प्रतिशत मार्केट शेयरका साथ पहिलो स्थानमा उक्लियो ।

१७ प्रतिशत मार्केट शेयरका साथ सामसङ दोस्रो नम्बरमा हुँदा साओमी १२ प्रतिशतमा सीमित हुन पुग्यो । यसरी स्मार्टफोनको बजारमा उतारचढाव चलिरहँदा कम्पनीले विश्वकै पहिलो ब्राण्ड हुन हाई–इन्डमा सफलता हासिल गर्न आवश्यक रहेको बताएको छ ।

त्यसका लागि कम्पनीले १५.७ अर्ब अमेरिकी डलर हाइ-ईन्ड स्मार्टफोनको अध्ययन अनुसन्धानमा खर्च गर्ने निर्णय गरेको छ ।

आगामी पाँच वर्षको यस योजनामार्फत कम्पनीले हाइ-ईन्डमा एप्पलको प्रभुत्वलाई तोड्ने योजना बनाएको हो ।

यो योजनामा कम्पनी सफल हुने छ वा छैन भन्ने विषय आगामी दिनमा तय हुनेछ । तर, कम्पनीले अघि बढाएको अनुसन्धान परियोजनाले एप्पलका लागि भने केही चुनौती पक्कै देखापर्ने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२