close

अनलाइनबाट पहिलाे महिनामै ७.४ अर्बकाे भन्सार राजस्व संकलन

टेकपाना टेकपाना

फागुन ८, २०७८ ११:३०

अनलाइनबाट पहिलाे महिनामै ७.४ अर्बकाे भन्सार राजस्व संकलन

काठमाडौं । भन्सार विभागले डिजिटल माध्यमबाट माघ मसान्तसम्म ७.४ अर्ब बराबरको राजस्व संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था गत पुस १ देखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी माघ १२ देखि देशभरका सबै भन्सार कार्यालयमा कार्यान्वयन गरिएको हो ।

यसरी भन्सार विभागको प्रज्ञापनपत्र सम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलसँग जोडी विद्युतीय माध्यमबाट संकलनको सुरुवात भएसँगै आयतकर्तालाई पनि भुक्तानी गर्न सहज भएको छ ।

नेसनल पेमेन्ट स्वीच अन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाइम तथा नन-रियल टाइम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीचमार्फत रियल टाइममा रु. ३.४ अर्ब र एनसीएचएल–आईपीएस मार्फत नन-रियल टाइममा चार अर्ब बराबरको संकलन भएको छ ।

भुक्तानी गर्नका निम्ति भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणालीबाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनै पनि च्यानलमा सो विवरण दाखिला गरी अनलाइन भुक्तानी गर्न सक्ने जनाइएकाे छ ।

यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ । भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आईपीएस, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्न सक्दछन् ।

यो सेवा एनसीएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाँडै नै उपलब्ध हुने बताइएकाे छ ।

भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगद वा चेक मार्फत हुने गर्थ्याे । देशभरका भन्सार नाकाबाट आयात कर, भ्याट, अन्तः शुल्क लगायतका विभिन्न करहरु संकलन हुने कुल राजस्वको ४४ प्रतिशत ओगटेको छ भने सरकारी करको हकमा ५० प्रतिशत योगदान छ ।

यसरी भन्सार विभागको अनलाइन संकलन सेवाको सुरुवातले विभागको सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याई विभागको “क्यासलेश र फेशलेस’ सेवा दिने नीतिलाई सहयोग गर्ने अपेक्षा गरेका गरिएको छ ।

आ.व. २०७८/७९ को माघ मसान्तसम्म सरकारी राजस्वको अनलाइन संकलन रु. १३.२ अर्ब भएकोमा भन्सार विभागको एक महिनामै ५६ प्रतिशत योगदान रहेको छ ।

सरकारले गत आ.व. २०७७/७८ मा कूल राजस्व संकलनमध्ये १० प्रतिशत अनलाइन माध्यबाट संकलन गरेको थियो । आउँदो समयमा सरकारी राजस्व संकलन अनलाइन माध्यमबाट २–३ गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ भने भन्सार विभागको अनलाइन संकलनले यसमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२