close

स्मार्टफोनमा ‘डु नट डिस्टर्ब मोड’ को काम के हो ?

टेकपाना टेकपाना

फागुन ८, २०७८ १७:३६

स्मार्टफोनमा ‘डु नट डिस्टर्ब मोड’ को काम के हो ?

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकी बनेको छ । योसँग हाम्रो धेरै कुरा जोडिएका छन् । यस्तोमा स्मार्टफोन सधैं सँगै हुनु स्वभाविक पनि हो । त्यो हुँदा कहिले म्यासेज, कहिले फोन त कहिले विभिन्न सेवाको नोटिफिकेशन आइरहेको हुन्छ ।

तपाईं समान्य अवस्थामा हुनुहुन्छ र मोबाइल नै चलाइ रहनुभएको छ भने त त्यसले त्यति फरक पार्दैन । तर, यदि तपाईं कुनै बैठकमा हुनुहुन्छ । अथवा सुतिरहनु भएको छ भने त्यस्ताे अवस्थामा आउने कल तथा नोटिफिकेशनको आवाजले पक्कै पनि तपाईंलाई असर गर्नेछ ।

त्यस्ता कल तथा नोटिफिकेशनको आवाजले तपाईंको ध्यान भंग गर्न सक्छ । हुन त यसका लागि बैठकमा बस्दा मोबाइल साइलेन्ट मोडमा राख्ने अथवा फोन अफ गर्ने, फ्लाइट मोडमा राख्ने जस्ता धेरै विकल्प छन् ।

तर, यस्ता विकल्प सबै ठाउँमा उपयुक्त नहुन सक्छन् । फोन अफ तथा फ्लाइट मोडमा राख्दा अत्यावश्यक फोन छुट्न सक्छ ।

त्यसैले आज हामी सबैभन्दा सही विकल्पको रुपमा रहेको ‘डु नट डिस्टर्ब मोड’ कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

त्योभन्दा अघि एउटा कुरा के जान्न जरुरी छ भने यो फिचर सबै फोनमा एउटै हुन्छ भन्ने हुँदैन । त्यसैले यहाँ हामी सामसङ फोनका आधारमा तपाईंलाई यो फिचर प्रयोग गर्न सिकाउँदै छौं ।

त्यसका लागि सुरुमा मोबाइलको सेटिङमा जानुहोस र नोटिफिकेशनमा क्लिक गर्नुहोस् । अब त्यहाँ केही तल तपाईंले ‘डु नट डिस्टर्ब’ देख्नुहुनेछ ।

उक्त विकल्पमा क्लिक गर्नुहोस् । त्यहाँ अब तपाईंले ‘डु नट डिस्टर्ब अन’ गर्ने विकल्प देख्नुहुनेछ । उक्त विकल्पलाई अन गरेसँगै अब तपाईंको मोबाइलमा कुनै आवाज भने आउँदैन ।

तर, फोन तथा नोटिफिकेशन आउँदा स्क्रिन भने बल्छ । त्यो हुँदा तपाईंलाई फोन तथा नोटिफिकेशन आइरहेको छ भन्ने जानकारी भने प्राप्त हुन्छ ।

डु नट डिस्टर्ब अन गर्नुअघि त्यहाँ तपाईंले ‘फर हाउ लङ’ भन्ने विकल्प पनि देख्नुहुनेछ । जसमा तपाईंले कति समयका लागि यो मोड अन गर्ने हो, आफैंले तय गर्न सक्नुहुनेछ ।

त्यो भएको खण्डमा आफूले तोकेको समयपश्चात स्वतः डु नट डिस्टर्ब मोड अफ हुनेछ । डु नट डिस्टर्ब मोडको यो एउटा सबैभन्दा राम्रो विकल्प हो ।

सँगै त्यहाँ ‘स्लिपिङ’ मोड पनि उपलब्ध रहेको छ । उक्त विकल्पलाई अन गर्नुभएको खण्डमा तपाईंले सेट गर्नुभएको समय अर्थात रातको यति बजे सुत्छु र यति बजे उठ्छु भनेर तोकेर राखेको समयमा पनि डु नट डिस्टर्ब मोड आफै अन हुनेछ ।

त्यो हुँदा त्यो समयभित्र तपाईंलाई फोन तथा नोटिफिकेशनले डिस्टर्ब गर्न सक्दैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२