काठमाडौं । अब स्मार्ट टेलिकमकाे कुनै पनि सेवा लिन कागजात बाेकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । त्यसका लागि स्मार्ट टेलिकम र डिजिटल जियो एड्रेस सेवा प्रदान गर्दै आएका ‘ठेगाना सर्भिसेज’ बीच आइतबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा स्मार्ट टेलिकमको तर्फबाट कस्टमर सर्भिस एण्ड एक्सपिरियन्स शाखाका प्रमुख एमी सक्सेना र ठेगानाका तर्फबाट अध्यक्ष तथा सीईओ विशाल केसीले हस्ताक्षर गरे ।
योसँगै स्मार्टका कुनै पनि आउटलेटमा पुगेर सेवा लिँदा केवाईसीका लागि आवश्यक पर्ने कागजतको स्थानमा क्यूआर स्क्यान गर्दामात्रै हुनेछ ।
त्यसका लागि ठेगानाले स्मार्टलाई सिस्टम उपलब्ध गराउने छ । उक्त सिस्टम उपलब्ध भएसँगै ठेगाना एपमा भरिएको प्रयोगकर्ताको जानकारीलाई नै सिस्टमले रिड गर्ने जनाइएको छ ।
यसका लागि प्रयोगकर्ताले ठेगानाको एपमा आफ्नो सम्पूर्ण जानकारी भर्न सक्नेछन् । सोही एपमार्फत स्मार्टका आउटलेटमा राखिएका क्यूआरमा स्क्यान गरेसँगै सिस्टमले आवश्यक जानकारी लिनेछ ।
त्यसैका आधारमा ग्राहकलाई बिना कुनै झन्झट सेवा उपलब्ध हुने दाबी गरिएकाे छ । ठेगाना सर्भिसेसले ठेगाना आईडी एपलाई प्रयोग गरी क्यूआर कोड मार्फत केवाईसी दर्ता गर्न लागेको नेपालमै पहिलो पटक हो ।
याे सेवा विस्तारै बैंक तथा अन्य टेलिकम सेवा प्रदायकमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ठेगानामा राखिएका सम्पूर्ण जानकारीमा प्रयोगकर्ताकाे पूर्ण स्वामित्व रहने छ ।
यसको एपमा उपलब्ध गराइएको जानकारीमा कम्पनीकाे कुनै पहुँच नहुने र पूर्ण सुरक्षित पनि रहने जनाइएको छ ।
ठेगाना एप आईओएस तथा एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध छ ।