close

चीनमा निर्माण हुँदैछन् साझाका ४० बिजुली बस, चाँडै नेपाल भित्रिने

टेकपाना टेकपाना

फागुन १०, २०७८ १८:२८

चीनमा निर्माण हुँदैछन् साझाका ४० बिजुली बस, चाँडै नेपाल भित्रिने

काठमाडौं । साझा यातायातले चीनमा आफ्नो ४० थान विद्युतीय बस निर्माण भइरहेको जानकारी दिएको छ । सार्वजनिक सवारीतर्फ विद्युतीय गाडी गुडाउने उद्देश्य सहित साझाले चीनको नान्जिङ स्थित कारखानामा बस निर्माण भइरहेको बताएको हो ।

साझा यातायातका सञ्चालक कनकमणि दिक्षितले ४० बसमध्ये तीन बस यही चैत महिनाभित्र नेपाल आइपुग्ने बताएका छन् ।

नेपाल आएका तीनवटा विद्युतीय बसको उपत्यकाका सडकमा सफल परीक्षण पश्चात बाँकी ३७ वटा बस पनि आउने उनले जानकारी दिए ।

साझा यातायातले गत असोज २२ गते चीनको सीएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो ।

२६ सिट क्षमता भएका बस अपाङ्गमैत्री छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिई २०० किलोमिटर गुड्नसक्ने भनिएको छ ।

सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरी देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२