काठमाडौं । एक महिनाको अवधिमा मात्रै विदेशबाट झन्डै तीन अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागले हालै जारी गरेको माघ महिनाको तथ्यांक अनुसार विदेशबाट एक महिनामा कुल दुई अर्ब ७५ करोड ६३ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको छ ।
यो अवधिमा कूल चार लाख ४१ हजार ३७० वटा मोबाइल फोन भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो सात (साउनदेखि माघसम्म) महिनामा २८ अर्ब ३८ करोड ५६ लाख रुपैयाँभन्दा बढीको ४० लाख पाँच हजार ८०४ मोबाइल आयात भएको छ ।
एक महिनाको अवधिमा चार लाख ४१ हजार ३७० वटा मोबाइल थप भित्रिएको छ ।
पुस महिनासम्म २५ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ४३४ वटा मोबाइल भित्रिएको थियो । जसमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनबाट मोबाइल आयत भएको छ ।
चीनबाट मात्रै माघ मसान्तसम्म कूल १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको ३० लाख ८० हजार १६९ मोबाइल भित्रिएको छ । त्यस्तै दोस्रो धेरै मोबाइल आयात हुने देशमा देशमा भारत छ ।
भारतबाट माघसम्म कूल १० अर्ब ३४ करोड ४५ लाख रुपैयाँ बराबरको ७ लाख ४५ हजार १६० वटा मोबाइल भित्रिएको छ । तेस्रो नम्बरमा रहेको भियतनाम छ ।
भियतनामबाट माघ मसान्तसम्म कूल ७८ करोड ९५ लाख ८० हजार रुपैयाँ बराबरको एक लाख ६१ हजार ८०६ वटा मोबाइल सेट भित्रिएको छ ।
यसरी भित्रिएको मोबाइलबाट सरकारले माघ मसान्तसम्म चार अर्ब ४९ करोड ११ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।