काठमाडौं । फेसबुक स्वामित्वकाे मेटाले केही महिनादेखि लगातार घाटा बेहोरिरहेको छ । गत अक्टाेबरमा फेसबुक इंककाे नाम परिवर्तन गरी मेटा राखिएकाे थियाे ।
आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण माध्यम (फेसबुक, म्यासेन्जर, इन्टाग्राम, ह्वाट्सएप) को उद्देश्य एउटै रहेकाले प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरिएकाे थियाे । तर आजसम्म मेटा नाम राख्नु फेसबुकका लागि अभिसाप जस्तै भएको छ ।
प्रयोगकर्ताको व्यक्तिगत जानकारी ट्र्याक गरेर सामान बेच्ने फेसबुकको व्यापार मोडललाई क्र्याम्पिङ गर्दै एप्पल र गुगलले गोपनीयता नीति परिवर्तन गरेका छन् । जसको माध्यमबाट एप्पल र गुगल प्रयोगकर्ताले मेटा ट्र्याकरलाई ब्लक गर्न सक्नेछन् ।
त्यसैको परिणाम स्वरूप मेटाको आम्दानीमा गिरावट आएको छ । यसबाहेक पनि कम्पनीको व्यवसाय घट्नुमा विभिन्न कारण छन् ।
फेसबुकका प्राय युवा प्रयाेगकर्ता छन् । टिकटकको आगमनपछि प्रयोगकर्ताले फेसबुकभन्दा टिकटकलाई प्राथमिकता दिन थाले ।
फेसबुकको माध्यमबाट आफ्ना मान्छेसँग डिजिटल रूपमा जोडिरहन सकिन्छ । फेसबुकको यही विशेषताले करोडौं प्रयोगकर्ता याे प्लेटफर्ममा जाेडिएका छन् । तर अहिले त्यो विशेषता भएका प्लेटफर्म धेरै आइसकेका छन् ।
यसले गर्दा फेसबुकका प्रयोगकर्ता घट्दै गइरहेका छन् । न्यू योर्क म्यागेजिनमा प्रकाशित एक समाचार अनुसार गत ६ महिनामा फेसबुकले करिब ५०० अर्ब डलर (५९८ खर्ब रूपैयाँ बढी) गुमाएको छ ।
कम्पनीलाई नयाँ दिशामा ल्याउन मार्क जुकरबर्गले बेलाबेलामा नयाँ-नयाँ फिचर ल्याइरहेका छन् । प्रयोगकर्तालाई थ्रीडी प्रविधिको माध्यमबाट भर्चुअल रियालिटीको अनुभव गराउन कम्पनीको नाम मेटा राखिएको थियो । तर यो प्रविधिले बजार पाउने कुरामा शङ्का नै छ ।