close

यी १० प्रविधि, जसले चाँडै नै संसार बदल्दै छन्

टेकपाना टेकपाना

फागुन ११, २०७८ १६:१९

यी १० प्रविधि, जसले चाँडै नै संसार बदल्दै छन्

काठमाडौं । विभिन्न कालखण्डमा भएका परिवर्तनले संसारको स्वरूप परिवर्तन गरेको छ । दशकौं अघि कल्पना नै नगरिएका प्रविधिले अहिले विश्व राज गरिरहेका छन् ।

सन् १९९४ मा मार्टिन कोपरले मोबाइल फोनको आविष्कार गरेका थिए । जसको तौल करिब एक केजी थियो । त्यो बेला मानिसले मोबाइल फोन पकेटमा बोक्न पनि मिल्छ भन्ने कल्पना गरेकै थिएनन् ।

आज हेर्नुस् त, त्योभन्दा हजारौं बढी विशेषता भएका फोने मुठीमा अटाउँछ । त्यस्तै भविष्यमा हामीले आज कसरी सम्भव होला र भनिएका प्राविधिले त्यो बेला संसारको स्वरूप नै परिवर्तन गरिदिने छन् ।

आज कस्ता प्रविधिले भविष्यमा कसरी संसारको स्वरूप नै परिवर्तन गर्लान् भन्ने विषयमा चर्चा गरौँ । अहिले साइन्स फिक्सन फिल्ममा देखाए जस्तो प्रविधिका विभिन्न उन्नत प्रगति केही हामीले देखिरहेका छौं भने केही कुनै दिन साँच्चै हाम्रै वरिपरि देखिनेछन् ।

त्यसका लागि भविष्यमा यिनै प्रविधिले अग्रगामी छलाङ मार्ने निश्चित छ ।

१. आर्टिफिसियल इन्टेलिजेन्स

अलेक्जा र सिरीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स टुलले भविष्यमा हाम्रो दैनिकी सहज बनाउने निश्चित छ । आज हाम्रा बारेमा अथवा हामीलाई कुन कुरामा बढी रूचि छ भन्ने कुरा हामीले उपलब्ध गराएको डेटाका माध्यमबाट पत्ता लगाई सामाजिक सञ्जाललाई आकर्षित बनाउने होडबाजी छ ।

कम्प्युटर प्रोग्रामिङको सहायताले चल्ने यी प्रविधिले हामीलाई आवश्यक कुरा सहजै उपलब्ध गराउन सक्नेछन् । यसले गर्दा भविष्यमा विभिन्न काम सहज हुँदै जानेछ ।

यसले हाम्रो सहयोग बिना नै हामीले गर्नुपर्ने महत्वपूर्ण काम गर्नेछ । आर्टिफिसियल नर्सिङको काम गर्न सक्नेछ । हस्पिटल नगइकन वा कोही चिकित्सकको हेरचाह बिना नै उपचार गर्न सकिनेछ ।

हाम्रा आर्थिक गतिविधि आफैं नियन्त्रित हुनेछन् । हामीले छुट्टाउन नसक्ने रेडियो एक्टिभ फोहोरहरू एआईले आफैं व्यवस्थापन गर्न सक्नेछ । होटल तथा रेस्टुराँमा एआईले नै खाना बनाएर बनाएर सर्भ गर्न सक्नेछ ।

ब्रेन कम्प्युटर इन्टरफेस

कल्पना गर्नुहोस् त, कुनै दिन हामीले सोचेकै भरमा कम्प्युटरको माउस र किबोर्ड वा ड्रोन नियन्त्रण गर्न सकियो भने के होला ? अथवा कुनै गीत बिना कुनै स्पिकर वा हेडफोन सोचेकै भरमा सुन्न सकियो भने के होला ?

यो साधारण मान्छेले सोच्नै नसक्ने विषय हो । नआत्तिनुहोस् अब यो सुविधा छिट्टै नै सार्वजनिक हुने भएको छ । एलन मक्सको न्यूरोलिङ्कले यसलाई छिट्टै नै सम्भव गराउनेछ ।

यसले तपाईंको मस्तिष्कमा चिप इम्प्लान्ट गरेर सबै कुरा तपाईंकै मस्तिष्कको नियन्त्रणमा हुने बनाइदिनेछ ।

थ्रीडी प्रिन्टिङ

यो पक्कै पनि पुरानो विचार नै होला । तर अब नयाँ शैली अस्तित्वमा आउँदै छ । यसले गर्दा हामीले देखिरहेका जुनसुकै वस्तु पनि थ्रीडी प्रिन्टिङको माध्यमबाट हुबहु अनुभूत गर्न सक्छौं ।

यसले गर्दा विभिन्न सवारी साधनका पाटपुर्जा सहजै निर्माण गर्न सकिनेछ । त्योभन्दा पनि महत्वपूर्ण कुरा के भने यसले मानवका विभिन्न अङ्ग पनि निर्माण गर्न सक्नेछ, जसले गर्दा मानव शरीरमा हुने अङ्ग प्रत्यारोपणका काम निकै सहज हुनेछ ।

जीवित रोबट

जीवित रोबट, तपाईंलाई यो शब्द सुन्दा नै अनौठो लागेको होला । आखिर रोबट कसरी जीवित हुन सक्छ, किनकि मानवद्वारा निर्मित रोबट कसरी जीवित हुन सक्छ ? अनि यसले भविष्यमा कसरी योगदान दिन सक्छ ?

यी रोबट जीवित कोषिकाबाट बनेका हुनेछन् । जसले चिकित्सा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्नेछ । वैज्ञानिकहरूले यसका लागि भ्यागुताको कोष निकालेर कम्प्युटर प्रोग्रामिङका माध्यमबाट विकास गर्नेछन् ।

यिनीहरू जीवित कोषिकाबाट बनेको भए पनि त्यसलाई जनावरको वर्गमा राख्न मिल्ने छैन । जीवित रोबट अङ्ग गुमेकाहरूका लागि लाभदायक हुने देखिन्छ ।

अगमेन्टेड रियालिटी 

यो प्रायः मार्क जुकरबर्गको मेटाभर्स रियालिटीसँग मिल्न जान्छ । यसलाई मेटाभर्सभन्दा पनि अझ विकसित प्रविधि भन्न सकिन्छ । यसको माध्यमबाट हाम्राे दैनिकी निकै नै सहज हुने देखिन्छ । हामीले भीआर बक्स लगेको भरमा विभिन्न काम सहजै गर्न सक्छौं ।

जस्तो हामीलाई कुनै रेस्टुराँमा जानु छ भने हामी रियल टाइममा ट्राभल गर्न सक्छौं । कति टाढा पुग्यौं अनि कति बाँकी छ भन्ने कुरा सहजै थाहा पुन सक्छौं । त्यस्तै हामीलाई कुनै लुगा मन परेको छ र त्यसलाई लगाउँदा कस्तो देखिन्छ भन्ने बुझ्न मन लागेको अवस्थामा अगमेन्टेड रियालिटीको प्रयोग गर्न सक्छौं ।

हामीलाई घरमा कस्तो रङ्ग लगायो भने सुहाउँछ भन्ने बुझ्न मन लागेको अवस्थामा पनि अगमेन्टेड रियालिटीको सहयोग लिन सक्छौँ । डिजिटल तस्वीररहरू वास्तविक समयमा आफ्नो पृष्ठभूमिमा प्रयोग गर्न सक्छौं ।

सेल्फ-ड्राइभिङ भेहिकल

सेल्फ-ड्राइभिङ सुविधा भएका सवारी साधन केही देशमा फैलिरहेका छन् । यसको उदाहरणका लागि टेस्लालाई लिन सकिन्छ । अहिले सबै साधनमा अटो-पाइलट प्रयोगमा नआइसकेकाले यो केही अपूर्ण भने छ ।

यदि बाटोमा गुड्ने सबै सवारी साधनमा अटो पाइलटको सुविधा हुने हो भने हामीले धेरै काम सहजै गर्न सक्छौँ, ट्राफिक जाम नियन्त्रण गर्न सक्छौँ, सवारी दुर्घटना नियन्त्रण गर्न सक्छौँ । यो प्रविधिले हामीलाई थुप्रै सुविधा उपलब्ध गराउने छ ।

 टेक्स्टाइल भर्चुअल रियालिटी

गेमरहरूका लागि उपयोगी यो प्रविधि भविष्यमा तीव्र रूपमा फैलिने देखिन्छ । यसको माध्यमबाट गेमरले रियल टाइममा जीवन्त खेल अनुभव गर्न पाउनेछन् । जस्तो अहिले पब्जी युवा-युवतीका माझ लोकप्रिय बनेको छ ।

यो खेल्न व्यक्तिले मोबाइल फोन वा कम्प्युटरको सहायता लिन सक्छन् । तर टेक्स्टाइल भर्चुअल रियालिटीकाे माध्यमबाट एउटा भीआर बक्सको सहायताले ग्राउन्डमै खेलेको अनुभव लिन सकिनेछ ।

यसका साथै यो चिकित्सा क्षेत्रमा पनि उपयोगी हुने देखिन्छ । नयाँ चिकित्सकले विभिन्न किसिमका सरल तथा जटिल शल्यक्रिया कसैलाई हानी नगरिकनै यसैबाट सिक्न सक्छन् ।

हाइपरलुप

यदि लामो यात्रा तय गर्नु छ, तर निकै नै कम समयमा भने यसका लागि के गर्न सकिएला ? सायद जेट प्लेन नै उपयुक्त हुन सक्छ ।

एलन मक्सले थालनी गरेको हाइपरलुपको विचारले यसलाई बिना कुनै जेट प्लेन सम्भव हुने भएको छ । यसका लागि टनेलमा ‘फली’ प्रयोग गरेर न्यून चापमा रेसिस्टेन्स र घर्षण कम गरी हाइपरलुप सिर्जना गरिन्छ ।

यो निकै द्रुत गतिमा चल्ने गरी निर्माण गरिएको हुन्छ । परीक्षणका क्रममा यो प्रविधिले ४६० किमि प्रति घण्टाको दूरी तय गरेको थियो । उनीहरूको योजना १२०० किमि प्रति घण्टा पुर्‍याउनु छ, जुन जेट प्लेनभन्दा निकै धेरै हो ।

एलन मस्कका अनुसार यसले पृथ्वीमा मात्र नभई मङ्गल ग्रहमा पनि उत्कृष्ट काम गर्नेछ ।

हाइड्रोजन पावर

बढ्दो सवारी साधनका कारण आज वायु प्रदुषण तीव्र फैलिएको छ । निश्चित मात्रामा रहेको पेट्रोलियम पदार्थ, बढ्दो विकास र प्रविधिका कारणले सकिएर जान्छ । यसको विकल्पमा हाइड्रोजन पावर वरदान सावित हुन्छ ।

यो प्रदुषणरहित हुने भएकाले संसारमा अस्तित्व भएका सम्पूर्ण प्राणीका लागि निकै लाभदायक हुन्छ । २०१५ मा टोयोटाले हाइड्रोजन फ्यूलबाट चल्ने गाडी निर्माण गरेको थियो ।

सन् २०१९ सम्म आइपुग्दा जम्मा १० हजारवटा कार बिक्री भए । त्यसले गर्दा कम्पनीले हाइड्राेजन पावर प्लान्टका लागि धेरै लगानी अभावका कारण निरन्तरता दिन पाएन । र, बन्द हुन पुग्यो ।

संसारमा हाइड्रोजन सहजै पाइने भए पनि इन्धनमा रूपान्तरण गर्न धेरै खर्च लाग्छ । अहिलेका प्रविधि प्रयोग गरेर यसलाई भण्डारण गर्न पनि सहज नभएकाले यो सम्भव हुन अझ केही समय पर्खनुपर्छ भविष्यमा यसलाई कम मूल्यमा अगाडि बनाउन सक्ने प्रविधि आएको खण्डमा मानव जीवन निकै सहज हुने देखिन्छ ।

ऊर्जा भण्डारण गर्ने ईटा

तपाईं घरतिर बिजुलीका धेरै तार भएकाले दिक्दार हुनुभएको छ भने यो तपाईंका लागि उपयोगी हुनसक्छ । यस प्रविधिमा ऊर्जा घरका ईटामा सञ्चित भएर बसेको हुन्छ, साथै सोही ऊर्जा विद्युतीय उपकरणमा प्रवाह गर्छ ।

यसले सूर्यबाट आएको घामलाई ऊर्जाका रूपमा सञ्चित गरेर राखेको हुन्छ । भन्नुको अर्थ, यस्ता ईटाले सौर्य प्यानलको काम गरिरहेका हुन्छन् । जसले भविष्यमा हुनसक्ने ऊर्जा सङ्कटका घटना निर्मुल पार्न ठूलो भूमिका खेल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३