close

साइबर आक्रमणले युक्रेनमा बैंक तथा सरकारी निकायका वेबसाइट बन्द

टेकपाना टेकपाना

फागुन १२, २०७८ १३:२०

साइबर आक्रमणले युक्रेनमा बैंक तथा सरकारी निकायका वेबसाइट बन्द

काठमाडौं । साइबर आक्रमणका कारण युक्रेनमा विभिन्न वेबसाइट बन्द भएको बताइएको छ । बुधबारबाट सुरु भएको साइबार आक्रमणको प्रक्रिया बिहिबारसम्म आइपुग्दा नियन्त्रण भन्दा बाहिर पुगेको उल्लेख छ ।

बुधबार ह्याकरले युक्रेनका विभिन्न बैंक तथा सरकारी निकायका वेबसाइटहरूमाथि आक्रमण गरेका थिए । साइबर आक्रमणबाट ती वेबसाइट पहुँचभन्दा बाहिर रहेको जनाइएको छ ।

युक्रेनको इन्टरनेट सेवा प्रदायक कम्पनी नेटब्लक्सले डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस(डीडस) आक्रमण भएको बताएको छ । डीडस एउटा यस्तो आक्रमण हो जसमा साइबर अपराधीले नेटवर्कमा आवद्द रहेका विभिन्न उपकरणहरूलाई संक्रमित गर्ने गर्छन् । र त्यही उपकरणको प्रयोग गरी सेवा प्रदान गर्ने सर्भरलाई लक्षित गरी आक्रमण गर्दछ ।

यसले गर्दा उक्त सर्भरबाट उद्देश्य अनुरूपको सेवा उपलब्ध गराउन सकिदैन । डीडस आक्रमण सामान्यतया भोलुम वेश, प्रोटोकल र एप्लिकेशन आक्रमण गरी तीन प्रकारका हुन्छन् । साइबर अपराधीबाट भएका केही महत्वपूर्ण डीडीओएस आक्रमणहरूमा सन् २०२० मा भएको अमेजन वेब सर्भिस, २०१७ को गुगल आक्रमण, २०१८ को गिटहब आक्रमण हुन् ।

डीडसमार्फत युक्रेनको सुरक्षा निकायको वेबसाइटमा समेत आक्रमणमा परेको छ । ह्याक भएका मध्य केही वेबसाइटहरू पूनः सञ्चालनमा आइसकेका छन् भने कतिपय अझै पनि बन्द रहेको जनाइएको छ । यो ह्याकिङ प्रकरणमा रसियन ह्याकरको हात रहेको अनुमान गरिएको छ ।

रसिया र युक्रेन बिच पछिल्लो समय बढ्दो द्वन्द्वात्मक स्थितिको परिणामले यो अवस्था सिर्जना भएको हो । यसका लागि युक्रेन सरकारले मंगलबार युरोपीयन युनियनसँग सहायता माग गरेको थियो । त्यसैका आधारमा ईयुले साइबर र्‍यापिड रेस्पोन्स टिम खटाएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३