काठमाडौं । हामी कतिपयलाई गुगलको म्यासेजिङ एपको बारेमा जानकारी नहुन सक्छ । किनभने धेरैजसो ब्राण्डका फोनमा मोबाइल म्यासेजका लागि छुट्टै एपको प्रयोग भएको हुन्छ ।
कतिपय फोनमा गुगल म्यासेज नै डिफल्ट म्यासेजिङ एपकै रुपमा रहेको हुन्छ । त्यसैले पनि पछिल्लो समय यसको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ ।
यस्तोमा कम्पनीले पनि समय समयमा विभिन्न फिचरहरू थप गर्दै आइरहेको छ । यसै क्रममा कम्पनीले नयाँ फिचरको रुपमा केही समय अघि क्याटेगोरी अनुसार म्यासेजलाई छुट्याउने सकिने बनाएको थियो । जुन पहिलो चरणमा केही देशका प्रयोगकर्तामाझ मात्रै उपलब्ध थियो ।
त्यसमा परिमार्जन गर्दै कम्पनीले थप देशहरूमा समेत यो सुविधा उपलब्ध गराएको जनाइएको छ । विभिन्न म्यासेज एकै ठाउँमा आउँदा हुने झन्झटलाई कम गर्न कम्पनीले म्यासेजको प्रयोजन आफै छुट्टिने गरी यो फिचर उपलब्ध गराएको हो । यसले प्रयोगकर्तालाई म्यासेज प्रयोगमा सहज हुने अपेक्षा कम्पनीको थियो ।
क्याटेगोरी अन्तर्गत ‘अल’, ‘पर्सनल’, ‘ट्रयान्ज्याक्सन’ र ‘ओटीपी’ रहेको छ । जसमध्ये ‘अल’ मा अहिले जस्तै सबै म्यासेज एकै ठाउँमा हुनेछ भने पर्सनलमा व्यक्तिको मोबाइल नम्बरबाट आएको म्यासेज रहनेछ ।
त्यस्तै ट्रान्जेक्सनमा तपाईंले गर्ने बैंकिङ कारोबारसँग सम्बन्धित म्यासेज छुट्टिएर बस्नेछ भने ओटीपीमा विभिन्न ठाउँमा लगइन गर्दा प्रयोग हुने ओटीपी कोडको म्यासेज रहने छ ।
यसरी म्यासेजलाई क्याटेगोरी अनुसार छुट्याएर दिँदा प्रयोगकर्तालाई म्यासेज खोज्न सहज हुने अपेक्षाका साथ कम्पनीले यो सुविधा उपलब्ध गराएको हो ।