काठमाडौं । नोकिया फोनको निर्माता कम्पनीले युरोपका धेरैजसो देशमा अहिले कठिन चुनौतीको सामना गरिरहेको छ । फिनल्यान्डको फोन निर्माता कम्पनी नोकियामाथि जर्मनी र स्विट्जरल्याण्डमा थुप्रै उत्पादन बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।
कम्पनीको वेबसाइटमा यी दुई देशमा नोकिया जी २१ र नोकिया जी ११ सहितका सबै जसो नोकिया फोनहरू स्टक सकिएको देखिन्छ ।
यद्यपि एचएमडी ग्लोबलको तनाव यतिमा मात्र सीमित नभएर अझै धेरै बढ्ने देखिन्छ । युरोपका थुप्रै देशमा नोकिया फोनहरू अहिले देख्न पाइँदैन ।
जसमा फ्रान्स, स्पेन, इटली जस्ता महत्त्वपूर्ण बजार मात्र नभएर कम्पनीको आफ्नै मुलुक फिनल्यान्ड समेत रहेका छन् । यस क्षेत्रमा तत्कालका लागि नोकियाको एक मात्र स्मार्टफोन जी २१ उपलब्ध छ ।
यस बाहेक नोकिया एक्स २०, एक्स १० र अन्य केही नोकिया फोन बेलायतमा पाउन सकिन्छ । भ्वाइसएजईभीएस एलएलसी नामक कम्पनीले आफ्नो इनह्यान्स भ्वाइस सर्भिस (ईभीएस) प्रयोग गरेको भन्दा एचएमडी ग्लोबल विरुद्ध मुद्दा दायर गरेको छ । अडियो कोडिङको यो मापदण्ड खासगरी भीओएलटीईमा प्रयोग हुने गर्दछ ।
जसले एलटीई मोबाइल नेटवर्कमा कल गर्दा यो प्रविधि प्रयोग हुने गर्दछ । तर दायर गरिएको मुद्दामा एचएमडीले यस्तो प्रविधि प्रयोग गर्न लाइसेन्स नलिएको आरोप लगाइएको छ । स्मार्टफोनको अनुपलब्धता कहिलेसम्म कायम रहन्छ भन्ने विषयमा कम्पनीले केही बताएको छैन ।